‘जनयुद्ध’लाई जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३०औँ ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् । “हजारौँ सहिदहरूको बलिदानबाट, रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँसयौँ वर्षसम्म रहनेछ,” उनले भने, “कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।”
यसलाई राष्ट्रिय दिवसका रूपमा अगाडि लैजानुपर्ने उनले जोड दिए । ‘जनयुद्ध’माथि अझै पनि प्रहार भइरहेको उनको भनाइ थियो । जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ,” उनले भने, जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन् । प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको उनले बताए । उनले प्रतिक्रियावादी शक्तिले गणतन्त्रलाई जनताको हुन नदिन अनेक गतिविधि गरिरहेको आरोप लगाए ।