फुडमाण्डु वानमार्ट ललितपुरमा
काठमाण्डौं । नेपालको फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । यसले उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ सहज हुने अपेक्षा गरिएको छ । सुरु मा वानमार्टको सेवा गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो । अब ललितपुर क्षेत्रमा यो सेवा फैलिएको र यसबाट जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश हुने बताइएको छ । हामी सधैँ आफ्ना ग्राहकहरूको जीवनलाई अझ सहज बनाउने उपायको खोजीमा छौँ ।
ललितपुरमा फुडमाण्डु वानमार्टको सेवा विस्तार गर्नु हाम्रो लागि थप अर्को एक सिढी हो जसले अब त्यस क्षेत्रका ग्राहकवर्गको दैनिक किनमेललाई पनि खाना अर्डर गरे जस्तै सजिलो बनाउनेछ ” फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने । यस विस्तारसँगै फुडमाण्डु वानमार्टले गुणस्तरीय सामानको तुरुन्त डेलिभरीका साथ साथै झन्झटमुक्त किनमेलको अनुभव प्रदान गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना बनाएको छ ।