ओलीले संविधान च्यात्न खोजे : अध्यक्ष प्रचण्ड
काठमाडौं । शनिबार झापाको दमकमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ संकल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेन्डालाई लिएर देशव्यापी अभियान थालेको समेत बताए । उनले अहिले एकथरी शक्ति संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए ।
आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेको प्रधानमन्त्री केपी ओलीलाई संघीयता, समावेशी, समानुपातिक प्रणाली मन नपरेको भन्दै ओलीले संविधान च्यात्न खोजेको आरोप लगाए । अध्यक्ष प्रचण्डले आफू पटक–पटक प्रधानमन्त्री हुँदा देशभित्र र देशबाहिर नयाँ रेकर्ड बन्न थालेपछि दलाल, भ्रष्ट र बिचौलियाले सरकार ढालेको दाबी गरे । अब सरकारबाट बाहिरिएपछि देशव्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनले जिकिर गरे ।