ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका(६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बम्जनलाई उपचारको क्रममा सिएमसी चुरेहिल अस्पताल हेटौंडामा शुक्रबार राति सवा ९ बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । अटोमा सवार मनहरी(६ खयरघारीकी मृतक पूजा बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट रहेको छ । चुरेहिल अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका १९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी अर्यालले बताए । अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका(२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *