पाहुना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई आहा रारा पोखरा गोल्डकपको उपाधि
२४औँ आहा रारा गोल्डकपको उपाधि पाहुना टोली उज्बेकिस्ताननको टोली ब्ल्याक बुल्स एफसीले जितेको छ । शनिबार कास्की स्थित पोखरा रंगशालामा भएको फाइनलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–१को जित निकाल्दै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सको जितमा जाखोन्गिर अखमाडोभ, असिलबेक ओरिफजोनोभ र जाखोन्गिर मख्मुडोभले समान एक गोल गरे । पुलिसका शिशिर चौधरीले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
३६औँ मिनेटमा जाखोन्गिर अखमाडोभले गोल गर्दै उज्बेकिस्ताननको टोलीलाई अग्रतामा राखेका थिए । ५९औँ मिनेटमा असिलबेकले पाहुना टिमको अग्रता दोब्बर बनाए । त्यसको सात मिनेटपछि नै जाखोन्गिर मख्मुडोभले ब्ल्याक बुल्सको अग्रतालाई ३–० मा पुर्याए । ७४औँ मिनेटमा शिशिर चौधरीले हेडर गोल गर्दै पुलिसलाई ३–१ को स्थितिमा ल्याए पनि टिमको हार टार्न भने सकेनन् । जितसँगै उज्बेकिस्ताननको टोलीले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ पुरस्कार पाएको छ। उपविजेतामा चित्त बुझाएको पुलिसले भने ६ लाख एक हजार रुपैयाँ पाएको छ। मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा रारा पोखरा गोल्डकपको २४औँ संस्करणमा कुल १२ टोलीको सहभागिता थियो । जसमा १० नेपाली र दुई विदेशी क्लब सहभागी थिए ।