ओडिसाको केआईआईटीकी विद्यार्थी मृत फेला, सबै नेपाली विद्यार्थीलाई घर फर्काइयो
काठमाडौँ । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेकी छन् । भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि केआईआईटी बी टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेकी हुन् । दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको छ । साँझ ४ ५ बजे आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको र तुरुन्तै उनलाई किम्स अस्पताल लगिएको एक नेपाली विद्यार्थीले जानकारी दिए । राति १० बजेदेखि होस्टेलमा प्रदर्शन सुरु भएको र सोमबार बिहान सबैलाई ‘डिपोर्ट’ गर्न थालिएको उनले बताए । ‘म खाजा खान मेसतिर जाँदै थिएँ, वार्डेनले तिमीहरू घर फर्कनुपर्छ भने, ‘जान नमान्नेलाई सेक्युरिटी गार्डले कुटे । विद्यार्थीहरूका अनुसार ५ सयभन्दा धेरै नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेसनमा ल्याएर छोडिदिएको छ । नेपाल जाने रेल बिहीबार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेको उनीहरूले बताए । ‘हामीहरूले प्रकृतिका लागि न्यायको माग गर्दै शान्तिपूर्ण रूपमा विरोध गरिरहेका थियौँ । तर विश्वविद्यालय प्रशासनले हाम्रो आवाज दबाउन खोजेको छ, अर्का एक विद्यार्थीले इमलेमार्फत भनेका छन्, ‘यो केबल प्रकृतिका लागि न्याय माग्ने विषय मात्र होइन, यो संस्थागत लापर्बाही र शैक्षिक संस्थाहरूमा विदेशी विद्यार्थीहरूको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाउने घटना पनि हो ।’ नयाँदिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ । घटनाबारे जानकारी पाएसँगै हामीले विश्वविद्यालय प्रशासनसँग कुरा गरिरहेका छौं । घटनाको छानबिन र विद्यार्थीको सुरक्षाका वियमा हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं, दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भने । हाल विश्वविद्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । प्रकृतिको परिवारका सदस्यहरू घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् । प्रकृतिका अभिभावक नआउन्जेलसम्मका लागि उनको कोठा सिलबन्दी गरेर राखिएको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय माध्यमहरूले जनाएका छन् । केआईआईटीमै कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका अर्का नेपाली विद्यार्थीका अनुसार लम्सालमाथि श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । उनीमाथि भएको दुर्व्यवहारबारे नेपाली विद्यार्थीहरूको एक समूहले आइतबार राति इन्टरनेसनल रिलेसन्स (आईआर)अफिसमा उजुरी गरेका थिए । हामी ती विद्यार्थीमाथि कारबाहीका लागि आइतबार राति करिब ९ः३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी दिन गएका थियौं । तर कारबाही त परै जाओस्, हाम्रो कुरा पनि सुनिएन, कम्प्युटर इन्जिनियरिङ अध्ययनरत उनले भने । लम्सालमाथि श्रीवास्तवले यसअघि पनि दुर्व्यवहार गरेका थिए । तर त्यतिबेला भने कलेज प्रशासनले कारबाहीस्वरूप ती विद्यार्थीलाई केही दिनका लागि निलम्बन गरेको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाबारे छानबिन सुरू गरेको छ । आईआईटीले एक विज्ञप्ति जारी गर्दै बी टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले आइतबार छात्रावासमा आत्महत्या गरेको जनाएको छ । बी टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले हिजो छात्रावासमा आत्महत्या गरेकी छिन् । उनको केआईआईटीमा अध्ययनरत अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ, सूचनामा भनिएको छ । घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराएको केआईआईटीले जनाएको छ । केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा सबै नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल कलेज छात्रावास छाड्न भनिएको छ । सूचनापछि करिब एक सय विद्यार्थी नेपाल हिँडेका एक विद्यार्थीले जनाएका छन् । अन्य विद्यार्थीले आफैं व्यवस्था गरेर कलेजबाहिर बसिरहेका छन् । केआईआईटीमा हाल नेपाली ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।