बिन्धवासिनी साकोस ३२ औं वर्षमा ,सिइओ लामा दीर्घ सेवा पदकबाट सम्मानित

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिति पनौति नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी रहेका थिए । त्यसैगरी बनेपा नगरपलिका वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्य एवं संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघका अध्यक्ष प्रदिप थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थामा आवद्ध भई संस्थाको नीति बमोजिम नियमित ऋण कारोबार गर्ने ०८०।०८१ को आधारमा थप ५१ जना सदस्यलाई असल ऋणी सदस्य सहुलियत परिचयपत्र वितरण गरिएको थियो भने ६ जना सदस्यका छोराछोरीलाई दलित छात्रवृत्ति प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट सेवा कार्यालय पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतानलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।
त्यसैगरी आर्थिक बर्ष २०८०।८१ को उत्कृष्ट कर्मचारीहरु र उत्कृष्ट कार्यालयलाई नगद सहित सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीमा तेस्रो तहदेखी पाँचौं तहतर्फ बनेपा सेवा कार्यालयका ऋण सहायक जयराम मानन्धर, छैटौं तहदेखि आठौं तहतर्फ भकुण्डे सेवा कार्यालयका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठ पुरस्कृत भएका छन् भने पनौति सेवा कार्यालय उत्कृष्ट कार्यालय बन्न सफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले पछिल्लो समय सहकारी संस्थाप्रति विश्वास घद्दै गएको अवस्थामा पनि बिन्धवासिनी साकोसले आफ्नो छवि र पहिचानलाई थप उचाई पुर्‍याउन सकेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको चुनौतिहरुको सामना गर्दै बिन्धवासिनीले थुप्रै उपलब्धी हासिल गर्न सकेको जनाए । समूहगत र क्षेत्रगत अवधारणामा संचालित उक्त संस्थाले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै ६९ हजार भन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्न सफल भएको छ । यस अवधिमा कुल कारोबार ५ अर्व १६ करोड पु¥याउन संस्था सफल भएको प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतानले जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको उक्त संस्थाले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार, बागमती प्रदेश उत्कृष्ट सहकारी संस्था पुरस्कार, बागमती प्रदेश उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार प्राप्त गरिसकेको छ ।

त्यसका साथै अन्तर्राष्ट्रिय स्तरमा एशियाली ऋण महासंघबाट पहिलो पटक क्यूमी पर्फमेन्स अवार्ड, सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार, जिल्ला सहकारी संघ लि. काभ्रेबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार, पनौती नगरपालिकाबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार, बागमती प्रास्कूनबाट उत्कृष्ट व्यवस्थापक पुस्कारक प्राप्त गरिसकेको छ । त्यसका साथै संस्थापक अध्यक्षले नेफ्स्कूनबाट उत्कृष्ट संस्थापक अध्यक्ष सम्मान र राष्ट्रिय सहकारी बैंकबाट स्व। संस्थापक अध्यक्ष स्मृति पुस्कारबाट प्राप्त गरिसकेको संस्थाले जनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै सदस्य बिस्तारित भेला तथा विभिन्न सामुदायिक कार्यहरु समेत सम्पन्न गरिसकेको छ । आगामी दिनमा जेष्ठ सदस्य तिर्थयात्रा, समिति उपसमिति क्षमता विकास तालिम एवं अध्ययन अवलोकन भ्रमण, शैक्षिक बाल बचतकर्तालाई अध्ययन अवलोकन भ्रमण, युवा भेला लगायत शिक्षा तथा सीपमुलक तालिम संचालन गर्ने संस्थाले जनाएको छ । ग्रामिण क्षेत्रका जनताहरुलाई सर्वसुलभ सहकारी सेवा दिई नेपालकै नमुना सहकारी संस्थाको रुपमा चिनिएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । कार्यक्रम संचालन संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले राखेका थिए । काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले सदस्यहरुलाई गुणस्तरीय र दिगो वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *