वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवस्थापनमा नयाँ प्रावधान लागू
काठमाण्डौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा अब पुनर्बीमक कम्पनीहरूले पालैपालो कोष प्रबन्धकका रूपमा कार्य गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। हाल नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) ले पुनर्बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। यस निर्देशनअनुसार सामूहिक बीमा कोषको व्यवस्थापन पुनर्बीमा कम्पनीहरूले पालैपालो ४, ४ वर्षका लागि गर्नेछन्।
यसअघि सबै पुनर्बीमकहरूले संयुक्त रूपमा व्यवस्थापन गर्ने प्रावधान थियो। नयाँ निर्देशअनुसार अब प्रत्येक पुनर्बीमक कम्पनीले निश्चित अवधिका लागि कोष व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ। यो व्यवस्था लागु भएसँगै बीमा व्यवस्थापन थप पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ। प्राधिकरणले निर्देशनको दफा ८ मा समेत संशोधन गर्दै व्यवस्थापन खर्चस्वरूप बीमाशुल्कको १ प्रतिशत रकम सदस्य बीमकलाई दिने व्यवस्था गरेको छ।
साथै, बीमांकीय मूल्यांकनका लागि लाग्ने वास्तविक खर्च बीमाशुल्क बाँडफाँटका आधारमा मिलान गरिनेछ। सामूहिक बीमा कोषको पुनर्बीमा व्यवस्थापन सुधार गर्दै कोष प्रबन्धकले पुनर्बीमाको कार्यसम्पादन गर्ने व्यवस्था संशोधित निर्देशनमार्फत गरिएको छ। यस व्यवस्थाले वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको बीमा सेवा सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बीमा प्राधिकरणले जनाएको छ।