फागुन ७ को महत्व
फागुन ७ गते नेपालको राजनैतिक इतिहासमा अत्यन्त महत्वपूर्ण दिन हो । यही दिनमा १०४ वर्षीय राणा शासनको अन्त्य भएको थियो । र, २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनः स्थापनाको आन्दोलनको सुरुवात पनि यसै दिन भएको थियो । संवत् २००७ सालमा स्थापित प्रजातन्त्रले राम्ररी जग हाल्न नपाउँदै ०१७ सालको काण्ड भयो । ०१७ सालमा लादिएको एकदलीय व्यवस्था तीस वर्षसम्म टिक्यो ।
२००७ सालमा प्रजातन्त्रले विजया पाएको फागुन ७ गतेकै मुहूर्तमा २०४६ सालमा प्रजातान्त्रिक आन्दोलनको उदघोष भएको थियो । त्यो आन्दोलन लगभग दुई महिना चलेर चैत्र २६ गते मध्यरात्रिमा बहुदलीय प्रजातन्त्र घोषणा गराउन सफल भएको थियो । यत्रो ठुलो महत्त्व बोकेको प्रजातन्त्र दिवस अर्थात् फागुन ७ गतेलाई अहिले लगभग बिर्सिसकिएको अवस्था छ । सरकारले फागुन ७ गते एक दिन सार्वजनिक बिदा दिने गरेको छ तर बिदा कुन प्रयोजनका लागि दिइएको हो भन्ने कुरा ५० वर्ष वरिपरिका नेपालीले थाहा पाउँदैनन् । नेपाली जनताले इतिहासको ठिक ढङ्गले अध्ययन नगर्दा अथवा भनौँ शिक्षाको पाठ्यक्रममा प्रजातन्त्र दिवसको बारेमा यथोचित स्थान नदिँदा आजको पुस्ताले २००७ सालको क्रान्ति र २०४६ सालको संयुक्त जन आन्दोलनको बारेमा राम्रो जानकारी प्राप्त गर्न सक्ने अवस्था छैन । माओवादीको क्रूर र आतङ्ककारी हिंसालाई जनयुद्ध भन्ने कि नभन्ने भन्ने विवादमा समय व्यथित गर्नेहरूले राणा शासन २००७ सालको क्रान्ति, पञ्चायती व्यवस्था र २०४६ सालको जन आन्दोलनका सम्बन्धमा आवश्यक जानकारी दिन पनि बन्द गरिदिएका छन् । माओवादी आततायीहरूले दश वर्ष नेपाल र नेपालीलाई बन्धक बनाएर राखेका थिए । त्यस अवधिमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने कुनै पनि नेपालीले स्वतन्त्रतापूर्वक बाँच्न सक्ने स्थिति थिएन । माओवादीको राक्षसी चरित्रलाई स्वीकार गर्न नसक्नेहरूले कालको मुखमा धकेलिनु अर्को कुनै उपाय थिएन । अहिले सत्ता स्वार्थका कारण कांग्रस र एमाले माओवादी परिवर्तनकारी शक्ति भनेर फुलवुट्टा भरे पनि नेपाली जनताले त्यसलाई अन्तर आत्माले स्वीकार गर्ने स्थिति छैन ।
माओवादीले त २००७ साल र २०४६ सालको परिवर्तनलाई स्विकार्दै स्वीकारदैन । उसले २००७ सालको क्रान्तिलाई एउटा सामान्य राजनीतिक घटना भन्दै आएको छ । विश्वको इतिहासमा ००७ साल जस्तो क्रान्तिकारी आन्दोलनलाई महत्त्वपूर्ण स्थान दिइन्छ । नेपालमा पनि त्यसलाई उच्च स्थानमा नै राखिएको छ तर माओवादी समेतका केही अतिवादी सङ्कीर्ण वादीहरू त्यसलाई स्वीकार गर्दैनन् । त्यस्ता स्वार्थी, एकलकाँटे र संकीर्णवादीहरु अहिले आफूले गरेको जङ्गली बर्बर अत्याचारलाई जनयुद्ध भनेर थाक्दैनन् । जनतालाई लुट्ने, अपहरण र हत्या गर्ने, श्रीसम्पत्ति नष्ट गर्ने, तिनको पुख्र्यौली थलोबाट लखेट्ने कार्य नै वास्तवमा जनयुद्ध हो भने त्यस आततायी जनयुद्धलाई नेपाली जनताले घृणा नै गर्छन् । जनता स्वतन्त्र र मुक्त भएको फागुन ७ को महत्वलाई नजर अन्दाज गरेर, बिर्सिएर र नेपाली धर्तीमा उदाएको प्रजातन्त्रको सुनौली बिहानीलाई ग्रहण लगाई दिएर आज जुन समाजको निर्माण भएको छ, त्यसले हाम्रो गौरवलाई किमार्थ बचाउन सक्दैन । प्रजातन्त्रले मात्र मानव जातिलाई स्वतन्त्र ढङ्गले विचरण गर्ने, बाच्ने, उन्नति गर्ने अवसर प्रधान गर्दछ । त्यो कुरा हामीले विदेशीको इसारामा चल्नेहरूलाई राम्ररी बुझाउन सक्नुपर्छ । फागुन सातको महत्वलाई घटाएर दिउँसै रात पार्न दुष्कर्मका विरुद्ध आजको पुस्ता खडा हुनु जरुरी छ । त्यसका लागि फागुन ७ को ऐतिहासिक महत्वको जानकारी यो पुस्तालाई राम्ररी हुनु आवश्यक छ ।