हिमालयन लाइफको साधारण सभाबाट १.१२ अर्ब रुपैयाँ बोनस सेयर पारित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस सेयर अनुमोदन गरेको छ । आइतबार सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले बोनस सेयर अनुमोदन गरेको हो । सभाले आर्थिक वर्ष २०७९।८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस सेयर अनुमोदन गरेको हो । सभामा बोनस सेयरमा लाग्ने कर भने स्वयं सेयरधनीहरूले नै तिर्नुपर्ने विशेष प्रस्ताव पनि पारित भएको छ । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलवपछिको भिन्न अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । यसैगरी, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधनका लागि निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । त्यस्तै, सभाले आव २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै सोही वर्ष हिमालयन लाइफमा मर्ज भएको साविक गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आव २०७९।८० को (मर्जअघिसम्मको) लेखापरीक्षक प्रतिवेदन, वासलात तथा नाफा(नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।