करोडौं टायरको ‘चिहान’ व्यवस्थापन गर्ने कुवेती काइदा

फोहोर व्यवस्थापन आज संसारका सबै देशका लागि चुनौती बनिरहेको छ । अझ नकुहिने फोहोर व्यवस्थापन त झन जटिल समस्या बनिरहेको छ । अझ यस्तोमा ५ करोडभन्दा बढी थोत्रा टायरहरू कसरी व्यवस्थापन गर्ने होला ? यति ठूलो टायरको चिहान कि जुन अन्तरिक्षबाट पनि देख्न सकिने भएको थियो । तर, कुवेतले ५ करोडभन्दा बढी थोत्रा टायर व्यवस्थापन मात्र होइन, यसबाट नाफामुखी परियोजना पनि सञ्चालन गरेको छ । कुवेतको सुलेबिया क्षेत्रमा २० वर्षभन्दा बढी समयसम्म विश्वकै सबैभन्दा ठूलो टायरको थुप्रो बनेको थियो । यसले वातावरणीय र स्वास्थ्य सम्बन्धी गम्भीर समस्या उत्पन्न गरेपछि कुवेती सरकारले सन् २०१२ देखि २०२० सम्म ठूलो पुनस् स्थानान्तरण र पुनस् प्रयोग परियोजना सुरु गर्‍यो। अत्यधिक तापक्रममा कारण टायर बल्दा स्थानीय बासिन्दाहरू धुँवाबाट आजित पनि बनेका थिए भने यसले वातावरणमा पनि प्रतिकूल असर पुर्‍याएको थियो । सन् २०१२ देखि २०२० सम्म ३ पटक त ठूला आगलागी भएका थिए । यसले हावामा निकै विषालु रसायनहरू मिसिइरहेका थिए । कुवेती सरकारले विभिन्न स्थानमा टायर प्रशोधन केन्द्र खोलेर टायर स्थानान्तरण गर्न सुरु गरेको थियो । सन् २०२१ मा अन्तरिक्षबाट हेर्दा त्यहाँका सबै टायरहरू रिसाइकल केन्द्रमा पठाइसकिएको थियो । टायरहरूलाई रिसाइकल गरी जैविक इन्धन र अन्य उपयोगी उत्पादनहरूमा परिवर्तन गर्न थालियो । प्रशोधन केन्द्रमा टायरहरूलाई ४५० डिग्री सेल्सियसभन्दा बढी तताएर ग्यासमा रुपान्तरण गरिएको थियो । टाइम्स अफ इन्डियाका अनुसार उक्त ग्यासलाई चिस्याएर बायोइन्धनका रूपमा बिक्री गरिएको थियो । यो क्रममा उत्पादन हुने ब्ल्याक कार्बनलाई संकलन गरेर स्टोर गरिएको र टायरबाट प्राप्त तारहरूलाई रिसाइकल गरिएको थियो । उक्त टायरहरूलाई रिसाइक्लिङ कम्पनीले मसिनो रूपले टुक्राएर गेमिङ टायल र फ्लोर बनाउन प्रयोग गरिएको छ । यसरी थोत्रा फालिएका टायरहरूको पुनर्प्रयोगबाट उपभोक्ताकै लागि आवश्यक सामग्री बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *