चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ- माओवादी केन्द्र
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेखा शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन चुनौति दिएकी छिन् ।
मंगलबार प्रतिनिधि सभामा पार्टीको तर्फबाट बोल्दै सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको बताइन् । ‘पूर्वराजलाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो । राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो,’ उनले भनिन् । संविधान निरंकुश नरहेको ख्याल गर्न पूर्वराजालाई उनको सन्देश छ ।
सांसद शर्माले स्वर्गद्वारी गुठी पीडित किसानका समस्या समाधान गर्न सरकारसँग माग गरिन् । सम्पत्ति शुद्धीकरण मामलामा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा परेको र यसबाट बाहिरिनका लागि नेपालले गरिरहेका कामबारे संसद्लाई जानकारी गराउन समेत उनले सरकारको ध्यानाकर्षण गराइन् ।