च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुदै
काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुदै छ ।
पाकिस्तानको लाहोरमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ । यसै मैदानमा यसअघि अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध भएको थियो । सोहि मैदानमा हुने आजको खेल पनि बर्षाले प्रभावित गर्न सक्ने देखिएको छ ।
प्रतियोगितामा अस्ट्रेलियाको २ खेलमा ३ अंक रहेकाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेल जितेको थियो भने दक्षिण अफ्रिकाविरुद्धको खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो । यस खेलमा हारले अस्ट्रेलियाको सेमिफाइनलको दौड समाप्त हुने छ भने बर्षाले खेल हुन नसकेमा अन्य खेलको नतिजामा भर पर्नुपर्ने छन् ।
त्यसैगरी अफगानिस्तानले पहिलो खेलमा दक्षिण अफ्रीकासँग हार बेहोरे पनि दोस्रो खेलमा इङल्याण्डलाई पराजित गरेर प्रतियोगितामा कमब्याक गरेको थियो । अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बर्षाले खेल रद्ध भएमा वा हार बेहोरेमा अफगानिस्तान च्याम्पियन्स ट्रफीबाट बाहिरिने छ ।