राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जुम्लाको सिंजा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बीच सोमबार हस्ताक्षर गरे । सम्झौतापश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधनसहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ ।
बढीमा १० लाख रुपैंयासम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने छ र गाउँपालिकाले आफ्नो कोषबाट ऋणिलाई एक प्रतिशत ब्याज अनुदान दिने छ । हाल बैंकको आधार दर ५।४४ प्रतिशत रहेको छ । यो कर्जा लगानी पश्चात कृषि उपजको व्यवसायिक उत्पादन भई स्वरोगारमा बृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा सिंजा गाउँपालिकाका २ वडा अध्यक्ष तीर्थ वड, बैंकका कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख अच्युत गौतम लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।