आयोजकले दर्शक कुटेको भन्दै सांसद शाहीको आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा सञ्चालन भएको केपी ओली कप फुटबलको फाइनल खेलमा आयोजकले दर्शक कुटेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले फागुन १९ गते दशरथ रंगशालामा सामान्य नारावाजी गरेको आरोपमा आयोजक राष्ट्रिय युवा संघ नेपालले डोल्पाका एक युवकलाई हातपात गरेको बताउदै विरोध गरेका छन् । उनले भने ‘रंगशालामा फागुन १९ गते भएको केपी ओली कप फुटबलको फाइनल खेलमा दर्शक दीर्घमा बसेको मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरुले मान्छे कुट्ने प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने, वा वा गृहमन्त्रीज्यू वा प्रधानमन्त्रीज्यू यो तिम्रो कस्तो लोकतन्त्र ।
यो कस्तो प्रजातन्त्रको अभ्यास गरिरहनु भएको छ । खुलमखुल्ला भन्नुस हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस हामी पनि तयार। भएर बस्छौं । तर, विधिको शासन खोइ ? आज वीपी र मदनको सपना खोई ? ‘ सोमबार भएको केपी ओली कपको फाइनल खेलका क्रममा एक युवाले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेको भन्दै युवासंघका कार्यकर्ताले युवालाई कुटेका थिए ।