प्रधानमन्त्रीलाई हिट्लर भनेर प्रश्न गर्दा संसद् प्रवेशमा रोक
काठमाडौं । संघीय संसद् सचिवालयले दुईजना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । महासचिवस्तरीय निर्णयबाट प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो । वली सुनौलो नेपाल र श्रेष्ठ युवा मन च्यानलका हुन् । संसद् प्रवेश गर्दा पालना गनुपर्ने पत्रकार आचारसंहिता छन् । पालना नगरेकाले एक महिनालाई निलम्बन गर्ने निर्णय भएको हो, संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा शब्द चयनमा ध्यान नदिइएको भन्दै निलम्बन गरिएको बताइएको छ । प्रधानमन्त्रीलाई हिटलर भनेर प्रश्न गरेको भन्दै एमाले सांसद सूर्य थापाले संसद्मै बोलेका थिए । केही समयअघि प्रधानमन्त्री संसद् भवनबाहिर निस्किँदा युट्युबरले समाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा तानाशाही प्रवृत्ति देखाएको भन्दै प्रश्न गरेका थिए । “तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू ?,” प्रधानमन्त्री निस्किन खोजेपछि प्रश्न गरेका थिए, जवाफ त दिएर जानुहोस् । सोही क्रममा प्रधानमन्त्रीलाई हिट्लर प्रवृत्तिमा जाँदै हो, सरकार ? भनी प्रश्न सोधिएको थियो । त्यही विषयमा सांसद थापाले संसद्मा आपत्ति जनाएका थिए ।