लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ- पूर्व प्रधानमन्त्री देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । उनले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाए । साथै उनले प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरुले गरेको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
देउवाले भने, ‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ ’ उनले थपे ।