विद्युत प्राधिकरणका निर्देशक घिसिङलाई नचलाउन सरकारलाई आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चेतावनी दिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नचलाउन आग्रह गरेका छन् ।
बिहीबारको संसद् बैठकमा बोल्दै उनले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कुलमानका बारेमा झुट विवरण संसद्मा सुनाएको भन्दै कुलमानलाई नचलाउन आग्रह गरेका हुन् । बिहीबारको संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री खड्काले जवाफ दिएका थिए । जवाफ दिँदै उनले कुलमानले लोडसेडिङ अन्त्य गरेको नभई भारतले गरेको बताए र भारतलाई धन्यवाद दिए । मन्त्रीको जवाफपछि लिङ्देनले मन्त्री झुट बोलेको बताए ।
‘मन्त्रीज्यू झुट बोल्नुभयो। मन्त्रीजस्तो व्यक्तिले संसद्लाई झुटा विवरण दिनु हुँदैन । गलत सुनाउनु हुँदैन । र यहाँ सबै मूर्खमात्र बसेका छन् भनेर ठान्नु हुँदैन’, उनले भने । मन्त्रीले रोष्टमबाट कुलमानलाई बोकेर नहिँड्न प्रतिपक्ष दलका नेताहरूलाई भनेकोप्रति पनि लिङ्देन खरो उत्रिए । ‘मन्त्रीज्यू जसरी सबै प्रतिपक्षमाथि खनिनुभयो । कतिपय माननीयले भन्नुभयो एउटा कर्मचारीलाई बोकेर मात्र नहिड्नुस्’, उनले भने, ‘कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्र ठान्छ भने, नोकर सम्झेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीका पक्षमा हामी उभिन्छौँ । हामी कसैलाई अन्याय हुन दिन्नौँ र त्यस्ता झुटा कुरा सुनेर पनि हामी बस्दैनौँ ।’
कुलमानले केही नगरेको भन्ने सरकारलाई पहिला आफ्नो कार्यसम्पादन हेर्न लिङ्देनले आग्रह गरे । ‘कुलमान घिसिङलाई म्याद तोकेरै कार्यसम्पादन मूल्याङ्कन माग्ने । त्यो ढिलो दिएकै आधारमा शून्य अङ्क दिने र त्यसको आधारमा कारबाही गर्ने भन्ने सरकार आफै फेल छ नि । सबैभन्दा धेरै बजेट हुने भौतिक मन्त्रालय त ८ प्रतिशत अङ्क ल्याएको छ,’ उनले भने, ‘आफै फेल हुने सरकारले पहिला त नैतिकताका आधारमा राजीनामा दिनुपर्यो । मन्त्री फेर्नुपर्यो। र अनि मात्र कर्मचारीलाई डण्डा चलाउने।’