राज्यले मलाई खोज्नुभन्दा पनि लगानी भएको रकम असुल्न सहयोग गरिदिए आभारी हुने थिए: भरत महर्जन

सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको रकम हिनामिना गरेर तपाईले नेपाल छाड्नुभएको आरोप छ नि ?

मैले पनि यो आरोप केही सञ्चारमाध्यममा पढे र सुने । यो पुष्टि नहुने आरोप मात्र हो । आरोपमा भनिए झै मैले सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको रकम हिनामिना गरेर नेपाल छाडेको हैन । कामको शिलशिलामा केही समयको लागि म विदेशमा छु ।

तपाई अहिले खासमा कुन मुलुकको कुन ठाउँमा हुनुहुन्छ ?

म अहिले व्यक्तिगत कामको शिलशिलामा विदेशमा रहेको छु । एशिसन र युरोपियन गरी पाँच/सात वटा मुलुकमा मेरा कामको शिलशिला चलिरहेको छ । कहिले कहाँ पुगिन्छ कहिले कहाँ निश्चित गन्तब्यमा ढुक्कले बस्न पाइरहेको छैन् । बस्ने गन्तब्य ‘फिक्स’ भएपछि भनौंला ।

तपाईले सुमेरू सेभिङ्गको रकम हिनामिना गरेको छैन भन्नुभयो संस्थाले त अहिले बचतकर्ताको पैसा फिर्ता गर्न सकिरहेको छैन्, कहाँ गयो त बचतकर्ताको पैसा ?

सुमेरु सेभिङ्ग स्थापना पछि मेरो अध्यक्षतामा केही बर्ष चल्यो । मेरो अध्यक्षतामा चलिरहेको समयमा कुनै पनि बचतकर्तालाई पैसा फिर्ता नदिएको ‘रेकर्ड’ छैन । मेरो कार्यकालमा त बचत फिर्ताको लागि कार्यालय पनि आउनु पर्दैनथ्यो । फोन गरेकै भरमा बचतकर्ताको घर–घरमा पैसा पु¥याउने व्यवस्था गरेका थियौं । म सञ्चालकबाट बाहिरिएको पनि धेरै बर्ष भयो । जहाँसम्म अहिले बचतकर्ताको रकम फिर्ता नगरेको सन्दर्भ छ । त्यो विषयमा म खासै ‘अपडेट’ छैन । मैले थाहा पाए अनुसार संस्था नयाँ व्यवस्थापनबाट सञ्चालन भइरहेको छ । त्यही व्यवस्थापनले बचत फिर्ताको साथै संस्थालाई नयाँ ढंगबाट पुरानै अवस्थाबाट नियमित ढंगले सञ्चालन गर्ने प्रयास गरिरहेको मैले सञ्चारमाध्यमबाटै पढे । नयाँ व्यवस्थापन सञ्चालन गर्नेहरु नेपालकै प्रतिष्ठित व्यक्तित्वहरु हुनुहुँदो रहेछ । मलाई आशा र विश्वास छ उहाँहरुले संस्थामा पछिल्लो समयमा देखिएको समस्याको समाधान चाँडै गर्नुहोला ।

तपाईको कार्यकालमा अनुगमनकारी निकायबाट रकम हिनामिना गरेको विषयमा प्रश्न उठाएको थियो ?

मेरो कार्यकालमा संस्था सहकारीको सिद्धान्त, नीति, विधि र पद्दतीबाट सञ्चालित थियो । संस्थागत सुशासन, आर्थिक अनुशासन र पारदर्शीतामा पनि हामी ’क्लियर’ नै थियौं । ठूलो कारोबार गर्ने संस्था भएकाले सुमेरु नेपाल सरकारको अनुगमनकारी निकाय सहकारी विभाग, तत्कालिन डिभिजन सहकारी कार्यालयको नियमन मै सञ्चालित थियो । मेरो कार्यकालमा अनुगमनकारी निकायले रकम हिनामिनाको त्यस्ता त्रुटि भेटेको भए त्यतिबेलै मलाई कारवाही गर्दथ्यो होला र हामी सच्चिन्थ्यौं पनि । सामान्य मानवीय त्रुटि भनेको सबैबाट हुन्छ, हामीबाट पनि भएको छैन म भन्दिन । हामीले नियतबस बचतकर्तालाई र राज्यलाई ठग्ने काम भने गरेनौं । त्यस्तै हामीले बुझ्नुपर्ने अर्को कुरा के छ भने मेरो कार्यकालमा संस्थागत सुशासन, आर्थिक अनुशासन र पारदर्शीतामा ‘खोट’ भए त्यस्ता संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कून) ले सदस्यता पनि दिंदैनथ्यो । बचत तथा ऋण सहकारी अभियानको केन्द्रीय अविभावक संस्था नेफ्स्कून आफैंमा त्यस्तै पारदर्शी र अनुशासित संस्था हो । आफू जस्ता अनुशासित र पारदर्शी संस्थालाई मात्रै नेफ्स्कूनले सदस्यता बनाउने व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेरै सुमेरुलाई नेफ्स्कूनले सदस्यता दिएको थियो ।

अहिले सर्बसाधारणको बचत फिर्ता गर्न पैसा छैन् । संस्थामा बचत गरिएको पैसा कहाँ गयो त ? कसरी आएको हुनसक्छ यस्तो समस्या ?

म संस्थाको सञ्चालक समितिमा नरहेको धेरै बर्ष भइसक्यो । पछिल्लो समय संस्थामा मेरो भूमिका भनेको साधारण सदस्यको हैसियतले साधारणसभामा उपस्थिति हुने, संस्थाको हित र प्रगतिमा आफूले जानेबुझेको सुझाब दिने हो । त्यस्तै संस्था गलत बाटोमा लागेको थाहा भए खबरदारी गर्ने मात्रै हो । एउटा प्रारम्भीक सहकारी संस्थाको सदस्यको काम कर्तव्य र अधिकारको विषयमा तपाईलाई थाहा भएकै कुरा हो । अन्यथा संस्थामा मेरो केही भूमिका रहन्न् । मेरो कार्यअवधिमा संस्थाको केही रकम तरलता व्यवस्थापनार्थ बैंकमा बचत गरेर राखिएको थियो । केही पैसा सदस्यहरुलाई बजारमा लगानी गरिएको थियो । केही रकम संस्थाले पूर्वाधारमा लगानी गरेको छ । जुन अहिले संस्थाको ठूलो सम्पत्तिको रुपमा रहेको छ । अहिले मुलुक मन्दिमै चलिरहेको कुरा सर्वविदितै छ । यस्तो अवस्थामा सुमेरुको मात्रै हैन, अन्य सहकारी र बैंक वित्तीय संस्थाको समेत पैसा समयमा असुल भइरहेको छैन । सायद सुमेरुको पनि बजारमा सदस्यलाई गरिएको लगानी नउठेर समस्या भइरहेको होला कि भन्ने मलाई लागिरहेको छ । कर्जा असुलीका साथै संस्थालाई सामान्य अवस्थाबाट सुचारु गर्न नयाँ व्यवस्थान लागिरहेको मैले सुनेको छु । मलाई आशा र विश्वास छ, संस्थामा देखिएका यावत समस्या चाँडै समाधान होला ।

त्यसो भए तपाईले संस्थाको एक रुपैयाँ पनि चलाएको छैन भनेर हामीले बुझ्ने हो ?

म पनि संस्थाको सेयर सदस्य हुँ । मैले बचत गर्न र चाहेको समयमा संस्थाको नीति विधिअनुसार कर्जा लिन सक्छु । त्यो मेरो मात्रै होइन एउटा संस्थाको सेयरधनी सबैले पाउने अधिकार पनि हो । त्यो अधिकार मैले प्रयोग नगरेको छैन म भन्दिन । संस्थाबाट कर्जा लिएको भए र देखिएको छ भने तिर्नुपर्छ भन्ने मेरो मान्यता हो र त्यस्तो रकम देखिए म तिर्न पनि तयार छु ।

त्यसोभए तपाईले सुमेरुको अर्बौ रकम हिनामिना गरेको हल्ला र निराधार नै हो त ?

यो सब निराधार हल्ला र अफवाह हुन् । एउटा प्रारम्भीक संस्थामा कुनै पनि व्यक्तिले त्यतिका ठूलो रकम र त्यसरी हिनामिना गर्नै सक्दैन् । संस्था एउटा नीति, विधि र पद्दतीबाट चलेको हुन्छ । ऋण लगानी गर्न ऋण समिति हुन्छ । संस्था र सञ्चालक समितिलाई जवाफदेहिता र पारदर्शीतामा खबरदारी गर्ने लेखा समिति हुन्छ । संस्थाको पैसा बाहिरिने कुरा सबै टिमको निर्णय र सहमतिबाट मात्रै हुन्छ । चाहे कर्जा लगानी होस या कुनै प्रयोजनमा पैसा बाहिरिने कुरा । यो प्रसंग मेरो सवालमा त शतप्रतिशत निराधार नै छ र त्यो अफवाह नै हो । अन्य धेरै सहकारीका अध्यक्षले समेत यति अर्ब र उति अर्ब रकम हिनामिना ग¥यो भन्ने सुन्छु । त्यो पनि बस्तुपरक र यथार्थपरक छ जस्तो मलाई लाग्दैन् । बजारमा लगानी गरेर नउठेको रकम समेत अध्यक्षले हिनामिना ग¥यो भन्ने सुन्छु । यो सब नेतृत्वको थाप्लोमा हालिदिने ‘ट्रेन्ड’ मात्रै हो जस्तो मलाई लाग्छ । पूर्वअध्यक्ष र सुमेरु नामबाट मैले आधा दर्जन भन्दा बढी व्यवसायिक संस्था चलाएकाले पनि मलाई अहिले सुमेरू सहकारीसँग जोडेर हेर्ने गरिदो रहेछ जुन दुःख लाग्ने विषय हो । ‘कागले कान लग्यो’ भनेर कागको पछि दौडिनु भन्दा पनि कान छाम्न म सबैलाई आग्रह गर्दछु । म पूर्खौंली सम्पत्ति प्रसस्तै भएको मान्छे हुँ । मेरो परिवारका अन्य सदस्यहरु शिक्षित नै छन् । उनीहरु राम्रै स्थानमा ‘सेटल’ भइसकेका छन् । दुई चार पुस्तालाई खाना लाउन मैले कसैको ठगेर खानु पनि पर्दैन । जहाँसम्म म कामको शिलशिलामा विदेशमा रहेको समयमा रकम ठगेर भाग्यो भन्ने कुरा सुनिन आयो । जुन दुःख लाग्दो कुरा हो । जुन निराधार र अफवाह मात्रै हो । म विदेशमा पनि जानु, आफू पूर्वअध्यक्ष रहेको उक्त संस्थाले सदस्यको बचत रकम समयमा फिर्ता गर्न नसक्नु सबै संयोग मात्रै हुन् । त्यसरी नै बुझिदिन म सबैसँग आग्रह गर्दछु ।

रकम हिनामिनाको विषयमा राज्यले पनि तपाईलाई खोजिरहेको छ त ?

यो कुरामा म पनि आश्चर्यमा छु । मैले यसअघि पनि भनिसकेको छु । म अध्यक्ष भएको समयमा बचतकर्ताको पैसा घर–घरमै पु¥याइदिएको थिए । मैले अध्यक्ष छाड्दा बचतकर्ताको केही पैसा बैंकमा तरलताको लागि बचत थियो । केही पूर्वाधारमा लगानी भएको थियो भने केही पैसा बजारमा कर्जाको रुपमा गएको थियो । राज्यले मलाई खोज्नुभन्दा पनि लगानी भएको रकम असुल्न सहयोग गरिदिए सेयर सदस्यको हैसियतमा म आभारी हुने थिए । पूर्वाधारमा भएको लगानी नयाँ व्यवस्थापनले नगदमा रुपान्तरण गरिदिओस् । संस्थामा देखिएको सबै समस्या हल भइहाल्छ ।

मैले तपाईलाई प्रश्न उठान गर्न खोजेको ‘राजनीतिक उन्मुक्ति’को विषय पनि थियो, तपाईको भनाईमा त त्यो विषय उठान गर्नै नपर्ने देखिएको हो त ?

म एउटा व्यवसायी हो । केही बर्ष अघि सहकारीकर्मी पनि थिए । अहिले सहकारीको सेयर सदस्य हुँ । राजनीतिक आस्था कुनैमा होला त्यो फरक कुरा हो तर, जहाँसम्म सहकारीलाई जोडेर ‘राजनीतिक उन्मुक्ति’को कुरा गर्न खोज्नु भएको हो भने यो विषय म मा लागू हुन्न् । र, उन्मूक्ति पाउने गरी मैले सहकारीमा लागेर कुनै गल्ति पनि गरेको छैन । संस्था खोल्नु, संस्थामार्फत सदस्यको आर्थिक तथा सामाजिकस्तर उकास्न खोज्नु, मुलुकमा व्यवसायिक संस्था खोलेर आर्थिक गतिविधि बढाउनु, राज्यलाई रोजगारी र राजश्वमा योगदान दिनुलाई मेरो गल्ती नभनिदिन म आग्रह गर्दछु । म व्यवसायी पनि भएकाले धेरैजसो स्थानीयस्तरदेखि उच्चतहका सबैदलका नेतासँग मेरो राम्रो सम्बन्ध छ र हुनुपनि पर्छ । मुलुक परिवर्तन र मुलुकको सर्वोपरी हितका लागि सबै राजनीतिक दल र राजनीतिज्ञहरुले गर्नु भएको त्याग र मेहनतलाई म समान सम्मान गर्छु ।

तपाई अध्यक्ष भएको कार्यकालमा संस्था कसरी चलाउनु भएको थियो ?

हामीले सहकारीको सिद्धान्तबाट अभिप्रेरित भएर संस्था स्थापना ग¥यौं । सहकारीकै नीति र विधिबाटै संस्था सञ्चालन गरिरह्यौं । त्यो कुरा सरकारकै अनुगमनकारी निकाय सहकारी विभाग र तत्कालिन डिभिजन सहकारी कार्यालयलाई पनि थाहा छ । म अध्यक्ष रहेको समयमा अन्य सहकारीले दिने सेवा भन्दा अतिरिक्त धेरै सेवाहरु दिएर सदस्यलाई लाभन्वित तुल्याएको थियौं । थुप्रै सामाजिक तथा लोक कल्याणकारी काम गरेका थियो । बचत गर्न संस्थामा आइरहनु पर्दैनथ्यो । आवश्यक परेको स्थानमा बचत संकलनको लागि घरमै जान्थ्यौं । त्यस्तै बचत फिर्ता लिन बचतकर्ताहरु कार्यालय आइरहनु नै पर्दैनथ्यो । खातामा भएको जति बचत छ उहाँहरुलाई फोनको भरमा घर–घरमै पु¥याइदिने व्यवस्था गरेका थियौं । सदस्यहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका थियौं । विशेष छुटमा स्वास्थ्य सेवा पनि उपलब्ध गराएका थियौं । संस्था स्वस्फूर्त सञ्चालनमा थियो । कुनै त्यस्तो समस्या थिएन् ।

विगतमा सहकारी संस्था सञ्चालनको अनुभवले सुमेरूलगायत अन्य सहकारीमा कसरी यस्तो समस्या आइरहेको छ जस्तो लाग्छ ?

सबैले बुझ्नु पर्ने कुरा के छ भने लामो समय कोभिडको असर, राजनीतिक अस्थिरता, स्थानीयस्तरमा आर्थिक गतिविधि गर्ने होनाहार युवाहरु बिदेशिने बढ्दो क्रम जस्ता कारणले मुलुक आर्थिकरुपमा ‘रोगी’ छ । राज्यलाई लागेको रोगको असर सबैक्षेत्रमा पर्नु स्वभाविक नै हो । सहकारी र त्यसमा पनि सुमेरुमा राज्यलाई नै लागेको रोगको असर नहुने भन्ने त कुरै हुन्न् । दैनिक प्रकाशित हुने सयौं कर्जा तिर्ने सूचनाले पनि यो कुरालाई पुष्टि गर्छ जस्तो लाग्छ मलाई । नेपालको अर्थतन्त्र उभो नलाग्ने कता कता ‘रोग’ लागेको हो की, बातावरण सुध्रिन समय नै लाग्ने हो कि भन्ने मलाई लागेको छ । नत्र म पनि यसरी संभावना खोज्दै विदेशिनु पर्दैनथ्यो । विभिन्न दर्जनौं व्यवसायिक संस्था खोलेर राज्यलाई करोडौं राजश्व बुझाउने र हजारौंलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगार दिइरहेका म जस्ता व्यवसायीलाई अहिले मेरो जस्तो विदेशिने चाहाना भइरहेको छ कि भन्ने मलाई लागेको छ । म नेपाली हुँ, नेपालको मायाँ नहुने भन्ने कुरा आएन । समय अनुकुल भए फेरि आर्थिक गतिविधिमार्फत राज्य र राजश्वलाई योगदान दिने हिसावमा म नेपाल फर्केर सेवा पु¥याउनेछु ।

सुमेरू सेभिङ्गको पूर्वअध्यक्षको हैसियतले संस्थाका सदस्यलाई तपाई केही भन्न चाहानुहुन्छ ?

सुमेरु सेभिङ्ग मेरै अध्यक्षतामा विगत २६ बर्ष अगाडि स्थापना भएको संस्था हो । आफूले दुःख मेहनत गरेर स्थापना गरेको सहकारी भएकाले पनि मलाई सुमेरु सेभिङ्गको असाध्य माया लाग्छ । म संस्थामा नरहे पनि संस्था राम्रो भइदिओस, कुनै व्यक्तिका कारण संस्थाका सदस्यले दुःख नपाउन भन्ने मेरो कामना र शुभेच्छा रहेको छ । मैले संस्था छाडेको समयमा संस्थाको अवस्था अहिलेको जस्तै प्रतिकूल थिएन् । अहिले मुलुककै अवस्था र परिस्थिति प्रतिकुल छ । लगानी गरिएको रकम समयमा नउठ्ने ‘रोग’ सबैजसो वित्तीय संस्थामा रहेको छ । त्यसैले सुमेरुमा पनि यो समस्या देखिएको हुन सक्छ । मैले सुनेको छु अहिले सुमेरु सहकारीको व्यवस्थापन नयाँ र प्रतिष्ठित व्यक्तिहरुबाट भइरहेको छ । संस्थालाई पुरानै अवस्थाबाट नियमित सञ्चालन गर्ने सम्बन्धमा उहाँहरुको ‘इफोर्ट’ ले काम गर्न सक्छ भन्नेमा म विश्वस्त छु । तत्काल नगदको अभाव भएपनि अचल सम्पत्तिमा सुमेरु सहकारीको आधार बलियो छ । संंस्थाहरु प्राइम लोकेशनमा रहेका छन् । सबै ठाउँका संस्थाको आफ्नै आधुनिक र सुविधा सम्पन्न भवनहरु रहेका छन् । दायित्व जति छ त्यो भन्दा बढी सम्पत्ति रहेको छ । अर्थतन्त्रमा आएको मन्दीको हुण्डरीले केही समय असहज भएको हुनसक्छ । यो सधैंभरी नरहला ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *