अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको छ : अध्यक्ष ढकाल
काठमाडौँ । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताएका छन् । अध्यक्ष ढकालले अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको दाबी गरे । उनले अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले ८६ प्रतिशत रोजगारको सिर्जना निजी क्षेत्रले गरेको जिकिर गरे । सरकारले उद्योग व्यवसायीहरूले निर्धक्कसँग उद्यम गर्ने वातावरण निर्माण गर्नसके उद्यमशीलता बढ्ने र रोजगारी सिर्जना हुने उनको भनाइ छ ।
उनले भने, ‘रियल रोजगारी सिर्जना गर्ने प्राइभेट सेक्टर नै हो । आएलओका अनुसार करिब ८६ प्रतिशत रोजगारीको सिर्जना निजी क्षेत्रले दिएको छ । हामीले पहिलो प्राथमिकता उद्योग व्यवसाय बढाउने किसिमको वातावरण बनाउनु पर्यो । नेपाल सरकारका पोलिसी मेकरहरु यहाँहरूले वास्तवमा के गर्नु पर्यो भने र, वा, कमा, फुलस्टपको कारणबाट निजी क्षेत्रलाई डिसकरेज गर्नु भएन । अध्यक्ष ढकालले उद्योग व्यवसाय बढाउन सकिने वातावरण निर्माण गर्नसके रोजगारी बढाउन सकिने र सोचे जस्तै पारिश्रमिक र सुविधा व्यवस्था गर्न सकिने बताए ।