रवि लामिछानेलाई अनुचित ढंगले सांसदबाट निलम्बन गरिएको भन्दै आपत्ति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुचित ढंगले सांसदबाट निलम्बन गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले प्रतिपक्षीको आवाजलाई सदनमा स्पेस नदिन यस्ता गतिविधिहरु गरिरहेको आरोप लगाएका हुन् । प्रचण्डले हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन पहिलादेखि नै रहेको बताउदै भने- ‘अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ । यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफैं मुल्याङ्कन गर्नुस् । हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं । त्यस्तै प्रचण्डले रास्वपाका सभापति लामिछानेलाई ठाउँ–ठाउँमा घुमाएर सरकारले हुर्मत लिने काम गरेको बताउदै भने-‘सदनभित्रै बहस गराउँदामात्रै लोकतन्त्र सुदृढीकरण गराउन सकिन्छ । ठाउँ–ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई सुदृढ गर्दैन । यो कुरा पनि हेक्का रहोस् ।’
उनले यस अघि पूर्वराजा र राजावादीलाई चेतावनी दिँदै संसारका विभिन्न देशहरुमा तानाशाही राजाहरुको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न चेतावनी दिएका थिए । उनले भने- ‘नेपालको शान्ति प्रक्रिया मात्रै होईन, गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार रहेको छ । संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छ ।
तर, नेपाल त्यसको अपवाद बन्यो । हामी सबैलाई राम्रोसँग जानकारी छ, त्यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो । पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परको कुरा, निर्वाशनसमेत नतोकी तत्कालका लागि बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सन हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रममात्रै हुने छ ।
प्रचण्डले पूर्वराजालाई सुरक्षित रुपमा देशमै राख्ने व्यवस्था गरेर गणतन्त्र ल्याएको बताउदै लामो संघर्षबाट प्राप्त उपलब्धीमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको बताए ।