होलीमा ट्राफिक चेकिङमा कडाइ, ७५ ठाउँमा बिहानैदेखि मापसे चेकिङ
काठमाडौं । फागुपूर्णिमा अथात् होलीको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गर्ने भएको छ । विहीबार फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजरमा राख्दै बिहानैदेखि ७५ ठाउँमा चेकिङ गर्न भएको हो । बिहान ७ बजेदेखि नै काठमाडौं उपत्यकाभित्रका विभिन्न ७५ स्थानमा चेक प्वाइन्ट राखेर चेकिङ गरिने भएको छ भने ट्राफिक चेक प्वाइन्टमा सवारीको कागजपत्र, मादक पदार्थ सेवनदेखि लापसेसम्म परीक्षण गरिने प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले नियम विपरित सवारी चलाउने गाडीलाई दिनभर होल्ड गर्नेछ। मापसे, लापसे, सिट भन्दा बढी यात्रु बोक्ने, हेलमेट नलगाई सवारी चलाउने लगायतका चालकको सवारी होल्ड गरिने जनाइएको छ । दिनभर होल्ड गरिएका सवारी साधन साँझ मात्र जरिवाना दस्तुर बुझाएर जिम्मा लगाइने भएको छ । बिहीबार ५०० भन्दा बढी ट्राफिक प्रहरी चेक प्वाइन्टमा खटिने छन्। त्यस्तै लागु पदार्थ सेवन गरेर सवारी चलाएको चेक गर्न मोबाइल भ्यानमा टोली परिचालन गरिने कार्यालयले जनाएको छ ।