बाल सुधारगृह तनावग्रस्त,दुई समूहबीच कुटाकुट

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा दुई समूहबीच कुटाकुट भएको छ । त्यहाँ रहेका बालबन्दीबीच झगडा भएको हो । त्यसक्रममा केही बालबन्दी घाइते भएका जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बालबन्दीबीच शुक्रबार (चैत १) राति नै कुटाकुट भएको थियो । त्यस क्रममा ६ जना घाइते भएका थिए । शनिबार अरू केही बालबन्दी घाइते भए । नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा हाल ४९ बालबन्दीको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मराज जोशीले जानकारी दिए । राति उनीहरूले आपसमा झगडा गरेछन् । आपसमा झगडा गर्ने, भित्र कसैलाई जाने नदिने, पूरै सुधारगृह नै उनीहरूले कब्जा गरेका रहेछन् । उक्त सुधारगृहमा कुल २५५ बालबन्दी राखिएको थियो । त्यहाँ सादा पोसाकमा १२ प्रहरी खटिएका थिए । सुरक्षार्थ खटिएका प्रहरीलाई पनि बालबन्दीले लखेटेको उनको भनाइ छ । शनिबार बिहान सुधारगृहबाहिर थप प्रहरी परिचालन गरिएको थियो । त्यसपछि केही बेर स्थिति तनावग्रस्त बनेको उनले बताए । सीडीओ जोशीका अनुसार, बाहिर प्रहरी पुगेपछि बालबन्दीले सुधारगृहमा आगजनी गरेका थिए । उनीहरूले त्यहाँ तोडफोड, कुर्सी–टेबुल फाल्ने कार्य गरे । आगजनी गरेर आफू छतमा बसे, ढुंगामुढा गरे, उनले भने, त्यहाँ जेजे छ, कुर्सी–टेबलले हिर्काए (प्रहरीलाई) । भित्र जान दिएनन् । केही बेर तनावग्रस्त भयो । बालबन्दीले सुरक्षाकर्मीको एउटा स्कुटर पनि चलाइदिए । त्यसक्रममा तीन प्रहरी र तीन सञ्चारकर्मी पनि घाइते भएका उनले जानकारी दिए । घाइते प्रहरी भेरी अस्पतालमै उपचाररत छन् । सामान्य चोट लागेका सञ्चारकर्मीले आफूहरू अस्पतालमा उपचार गराउनुपर्ने अवस्थामा नरहेको बताएका छन् । शनिबार करिब तीन घण्टा त्यहाँ स्थिति असामान्य थियो ।

बाल सुधारगृहभित्र प्रहरी प्रवेश गर्न पाउँदैन । तर, स्थिति असामान्य बनेपछि प्रहरी प्रवेश गरेको उनले बताए । उनीहरू बाहिर नआउने, भित्र बसिरहने, आगजनी हुने र जलेर मर्ने स्थिति भएपछि भित्र गएर उद्धार गर्नुपर्ने अवस्था आयो, उनले भने, आगलागी (आगजनी)बाट एउटा तलामा क्षति पुगेको छ । शनिबार बिहान करिब ११ बजे सुधारगृहमा बालबन्दीले आगजनी गरेका थिए । आफू सवा ११ बजेतिर त्यहाँ पुग्दा आगजनी भइसकेको सीडीओ जोशीले बताए । पछि दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । सुधारगृहका तीनमध्ये आगजनी गरिएको एउटा तलामा तत्काल बस्ने अवस्था छैन । त्यहाँका अरू बालबन्दीलाई सुधारगृहकै चौरमा प्रहरी घेरामा राखिएको छ । अस्पतालमा उपचार गराइरहेका बालबन्दीमध्ये धेरैलाई सामान्य चोट लागेको छ । एकजनाको अवस्था गम्भीर रहेको उनले बताए । अवस्था जटिल नभएका बालबन्दी शनिबारै ‘डिस्चार्ज हुने उनको भनाइ छ । अस्पतालबाट डिस्चार्ज हुने र प्रहरीको सुरक्षा घेरामा रहेका केही बालबन्दीलाई बाँकेकै अर्को सुधारगृहमा स्थानान्तरण गरिने उनले बताए । १८ वर्ष पूरा भएका र एकरदुईजना १८ वर्षमुनिका पनि छन्, आजै ७०,८० जनालाई बाँकेकै नौबस्ता सुधारगृहमा लैजान्छौँ । त्यहाँ (जयन्दु बाल सुधारगृह) लगिए फेरि लफडा हुनसक्छ । त्यहाँ एउटा तलामा बस्ने अवस्था पनि छैन । कुटपिटका क्रममा केही बालबन्दी सुधारगृहबाट बाहिर निस्किएका थिए । तर, पछि उनीहरू सुधारगृहभित्र गएका र कोही पनि सम्पर्कभन्दा बाहिर नरहेको सीडीओ जोशीले बताए । सुधारगृहमा रहेका केही बालबन्दीले लागुपदार्थ सेवन गरेका हुन सक्ने प्रशासनको आशंका छ । अस्पतालमा उपचाररतमध्ये केही यस्ता आशंकित बालबन्दी पनि हुन् । बाल सुधारगृहभित्र शंकास्पद लागुऔषधलगायत सामग्री भेटिएको र त्यो पुष्टि हुन बाँकी रहेको उनले जानकारी दिए । हाल सुधारगृहको स्थिति नियन्त्रणमा रहेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *