युक्रेनमा मारिएका सैनिकका आमालाई रुसी सत्तारुढ दलले मासु पिस्ने मेसिन उपहार दिएपछि

युद्धमा ज्यान गुमाउने विर सैनिकका परिवारलाई सरकार, राजनीतिक दल, समाज तथा व्यक्तिहरूले कस्तो खालको सम्मान तथा पुरस्कार दिन्छन् होला रु देशका लागि लड्दालड्दै ज्यान गुमाएको आफ्नो सैनिक छोराछोरीको बलिदान बापत सरकार तथा सत्तारुढ दलले परिवारजनलाई मासु पिस्ने मेसिन अर्थात् ग्राइन्डर उपहार दिएको कुरा अहिले चर्चामा छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीको मुरमान्स्क क्षेत्रस्थित पोल्यार्ने जोरी नगर शाखाले यो पटकको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युक्रेनसँगको युद्धमा मारिएका रुसी सैनिकका आमाहरूलाई मासु पिस्ने मेसिन उपहार दिने विवादास्पद कार्यक्रम गर्‍यो । मासु पिस्ने मेसिन पछिल्लो तीन वर्षको युक्रेनसँगको युद्धमा रुसी सेनाको उच्च मृत्युदरको प्रतीक बनेको छ । यस्तो अवस्थामा, उत्तरी मुरमान्स्क क्षेत्रको पोल्यार्ने जोरीस्थित युनाइटेड रसिया पार्टीले युद्धमा मारिएका सैनिकका आमाहरूलाई सम्मान गर्ने नाममा मार्च ८ का दिन मासु पिस्ने मेसिन उपहार दिएपछि त्यो निकै विवादित बनेको छ । पार्टीको सोसल मिडिया अकाउन्टमा प्रकाशित तस्वीरहरूमा युनाइटेड रसिया पार्टीको उक्त क्षेत्रको शाखाका कार्यकारी सचिव अन्ना माखुनोवा र मुरमान्स्क क्षेत्रको ‘पितृभूमिका रक्षकहरू फाउन्डेसन’ का प्रतिनिधि म्याक्सिम चेङाएभ युद्धमा मारिएका रुसी सैनिकका आमाहरूसँगै मासु पिस्ने मेसिन समातेर मुस्कुराउँदै उभिएका देखिन्छन् । सन् २०२५ लाई राष्ट्रपतिद्धारा ‘पितृभूमि रक्षकको वर्ष’ को रूपमा घोषणा गरिएको जनाउँदै आफूहरूको कर्तव्य र जिम्मेवारी राष्ट्रका नायकहरूका आमालाई शब्दमा मात्र नभई कामद्धारा ध्यान र समर्थन प्रदान गर्नु रहेको पार्टीले गरेको सोसल मिडिया पोस्टमा लेखिएको छ। त्यसमा लेखिएको छ, ‘प्रिय आमाहरू, तपाईंहरूको धैर्यशीलता र तपाईंहरूले आफ्ना सन्तानको पालनपोषणमा देखाउनुभएको प्रेमका लागि धन्यवाद । उनीहरूको वीरता हाम्रो स्मृतिमा सधैं रहनेछ, जसले भविष्यका पुस्ताहरूका लागि साहस र देशभक्तिको उदाहरण प्रस्तुत गर्नेछ ।’ मृतक रुसी सैनिकका आमाहरूलाई मासु पिस्ने मेसिन वितरण गरेका तस्वीरहरू रुसी सामाजिक सञ्जालमा भाइरल भएसँगै मानिसहरूले रुसको सत्तारुढ दल ती आमाहरूको दुःखप्रति संवेदनहीन भएको आरोप लगाउँदै तीव्र आलोचना गरेका छन् । तर युनाइटेड रसिया पार्टीका उक्त क्षेत्रको शाखाका सदस्यहरूले भने वीर सैनिकका आमाहरूलाई दिइएको मासु पिस्ने मेसिनको ‘अमानवीय र उत्तेजक’ अर्थ लगाइएको भन्दै प्रतिवाद गरेका छन् । साथै, उनीहरूले मृतक सैनिककी एकजना आमाले विशेष रूपमा मासु पिस्ने मेसिन नै माग गरेको दाबी गर्दै उनको अन्तर्वार्ता समेत प्रकाशित गरेका छन् । तस्वीरमा देखिएकामध्ये एक महिलाले विशेष रूपमा मासु पिस्ने मेसिन मागेको दाबी गरेका छन् । पार्टी नेताका अनुसार युक्रेन युद्धमा वीरगति प्राप्त रुसी सैनिकका परिवारजनलाई सम्मानस्वरूप प्रदान गरिने उपहारको नियमित सूचीमा उक्त मासु पिस्ने मेसिन थिएन । तर एकजना आमाले त्यस्तो मेसिनको माग गरेपछि पार्टी सदस्यहरूले अस्वीकार गर्न सकेनन् । स्थानीय पार्टी नेताहरूले केवल एकजना आमालाई उनको मागका कारण त्यस्तो मेसिन दिएको जिकिर गरेपनि सोसल मिडियामा आएका तस्वीर अनुसार एउटै खालको मासु पिस्ने मेसिन धेरै महिलाहरूलाई दिएको थियो । वास्तवमा अहिले युक्रेनसँगको युद्ध र रुसी सैनिकको उच्च हताहतीका बेला मृतक सैनिकका परिवारजनको घाउमा नुनचुक छर्नेगरी त्यस्तो उपहार दिनु उपयुक्त नहुने धेरैको राय छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *