गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । नेपालमा सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्ति स्थापनामा निर्णायक भूमिका खेलेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाली राजनीतिमा दूरदर्शी नेताको छवि बनाएका कोइरालाले वि.सं. २०६२/६३ को जनआन्दोलनको नेतृत्व गर्दै नेपालमा लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनकै नेतृत्वमा विसं २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो। कोइरालाले तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र हतियार व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनकै पहलमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएको थियो। चार पटक प्रधानमन्त्री बनेका कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए। विसं २०६६ चैत ७ गते उनको निधन भएको थियो।
आज नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले विविध कार्यक्रम आयोजना गरी कोइरालाको योगदानको स्मरण गर्दै छन्। जिपी कोइराला फाउन्डेसनले पनि विशेष कार्यक्रम आयोजना गरेको छ।