ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता
काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘Think before you follow, wise money tomorrow’ भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै, बैंकले नेपालभर वित्तीय सचेतना फैलाउने उद्देश्य राखेको छ । बैंकका अनुसार, डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, कृत्रिम बुद्धिमत्ताको प्रभाव, र ब्लकचेन प्रविधिको प्रवेशले सर्वसाधारण, विशेष गरी युवाहरूलाई सही वित्तीय निर्णय लिन चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, यो कार्यक्रम अत्यन्तै उपयोगी हुनेछ । यस अभियान अन्तर्गत बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना, र जिम्मेवार वित्तीय निर्णय सम्बन्धी विस्तृत जानकारी सहभागीहरूलाई दिइनेछ । कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने, र समग्र वित्तीय स्थायित्व कायम गर्न योगदान पुर्याउने लक्ष्य लिएको छ ।