थारु, मुस्लिमलगायतको आरक्षण माग सम्बोधन हुन्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपछि थारु, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो आश्वासन दिएका हुन् । सांसद बिनाकुमारी थनैतले थारु समुदायलाई छुट्टै वर्गका रूपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गरेकी थिइन्। प्रधानमन्त्री ओलीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित भएर ऐन जारी भएपछि थारु, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणलगायतका विषय सम्बोधन हुने बताए।

“उक्त विधेयकमाथि अहिले संसद्को राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ। निजामती सेवा ऐनमा समेत थारु समुदायलाई आदिवासी समुदायमा राखी आरक्षणको अवसर प्रदान गरिएको छ,” प्रधानमन्त्री ओलीले भने। वर्तमान सरकार गठन भएपछि मन्त्रिपरिषद्ले विभिन्न सार्वजनिक पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गरेको उनले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *