नेपाल पर्यटन बोर्ड र युएनडिपीबीच सम्झौता

काठमाण्डौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडिपी–नेपाल)ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ नामक नयाँ परियोजना सुरू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सिइओ जोशी र युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदानप्रदान गरेका हुन्। स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, पर्यटन कार्यबललाई सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको यो परियोजनाको सफलताका लागि सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताएका छन्। कुल लागत ५ मिलियन ५० लाख अमेरिकी डलर रहेको यो परियोजनामा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रत्येकले १.५ मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप २ मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ।

यस परियोजनाले तीन वर्षको अवधिमा (२०२५–२०२८) २ हजार पाँच सय दिगो रोजगारी सिर्जना गर्ने र पाँच हजार जनालाई पर्यटनसम्बन्धी सिप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। प्रमुख पर्यटकीय स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेसनलाई प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गरिनेछ यस परियोजनाको लक्ष्य रहेको छ। सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै बोर्डका सिइओ जोशीले युएनडिपीको साझेदारीप्रति धन्यवाद व्यक्त गर्दै भने, यस परियोजनाले नेपालमा पर्यटन अनुभवलाई मात्र उन्नति गर्ने होइन, स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसरहरू प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्छ।

त्यसैगरी, युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडिपीले जोडिन पाउँदा गर्व महसुस गरेको बताइन्। परियोजनाले नेपालको १६औं योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) परिकल्पना गरेको प्राथमिकता २०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्‍याउनु र विश्वभरका यात्रुहरूका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउनलाई बल पुर्‍याउने बोर्डले जनाएको छ। पर्यटन दशकले सन् २०३२ सम्म वार्षिक पर्यटक आगमन ३.५ मिलियन पुर्‍याउने लक्ष्य लिएको छ। बोर्ड र युएनडिपी–नेपालले यसअघि संयुक्त रूपमा सञ्चालन गरेको दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटिएलआरपी) ले कोभिड–१९ महामारीपश्चात् प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। सो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्दै एक हजार ६ सय जनालाई रोजगार सिर्जना गरेको थियो। यस नयाँ परियोजना एसटिपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तनमार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *