जिलेस्पीको उत्कृष्ट गोलले सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

काठमाण्डौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो। नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो। नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए। मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्। नेपालले सिंगाापुरविरूद्धको औपचारिक खेलमा पहिल पटक गोल गर्न सफल भएको हो। १९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भयो। नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेलेको हो। पछिल्लो पटक नेपाल र सिंगापुर १९८९ मा प्रतिस्पर्धा गरेका थिए। विश्वकप छनोटमा त्यतिबेला नेपाल र सिंगापुरले दुई खेल खेलेका थिए। १९८९ को मे महिनामा भएको खेलमा नेपाल ३-० गोलले पराजित हुँदा जुनमा नेपालले ७-० गोलको हार ब्यहोरेको थियो। त्यसअघि नेपाल र सिंगापुरबीच सन् १९८२ मा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो। किंग्स कपको उक्त खेलमा नेपाल २-० गोलले पराजित भयो। यसरी नेपालले सिंगापुरसँग अहिलेसम्म ३ अन्तर्राष्ट्रिय खेल खेल्दा सबै खेल गुमाएको थियो। ३ खेलमा १२ गोल खाएको नेपालले सिंगापुरविरूद्ध कुनै गोल गर्न सकेको थिए। ३६ वर्षपछि नेपालले सिंगापुरविरूद्ध खेल्दै ऐतिहासिक जित समेत निकाल्न सफल भयो। फिफा वरीयतामा सिंगापुर नेपालभन्दा १५ स्थान माथि छ। सिंगापुर १६०औं स्थान तथा नेपाल १७५औं स्थानमा छन्। सिंगापुरविरूद्धको खेल नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक म्याट रसका लागि पहिलो अन्तर्राष्ट्रिय खेल हो। उनले पहिलो खेलमा जित निकाल्न सफल भएका छन्। नेपाली टोली सिंगापुरसँग आज खेलेपछि मलेसिया जानेछ। मलेसियासँग नेपालले चैत १२ मा खेल्नेछ। मलेसियामा नेपालले एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। मलेसियाविरूद्धको यो खेल नेपालको घरेलु मैदानमा हुने भए पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त मैदानको अभावमा मलेसियामै हुन लागेको हो। सिंगापुर र मलेसियाविरूद्ध नेपाली टोली तीन खेलाडी नयाँ छन्। गोलकिपर अञ्जल श्रेष्ठ,फरवार्ड सुवास ठकुरी बम र डिफेन्डर सुमन श्रेष्ठ पहिलो पटक नेपाली टोलीमा परेका हुन्। सुमनले आज पहिलो रोजाइमा खेल्दै डेब्यू समेतगरे। एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। एसियन कप छनोटमा मार्चमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *