नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि २९ गतेसम्म हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ । यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बंगलादेश, र भुटानबाट सहभागिता हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौँ संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ ।
कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् । मेलामा जेष्ठ नागरिक तथा फरक रूपले समक्ष नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको र २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ ।