गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

पोखरा । नेपालकै सुप्रशिद्ध एवं पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रमले सम्पूर्ण तिथि, पर्व र शुभ महुर्तबारे जानकारी दिने गरी २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ । गलेश्वरधामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले पोखराको रामघाटस्थित गीता मन्दिरमा आयोजित एक विशेष कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा बोल्दै स्वामी महाराजले उक्त भित्तेपात्रो अग्नि, रुद्री, विवाह, ब्रतबन्ध, पास्नी जस्ता शुभकार्य लगायत व्यापार व्यवसाय सुरु गर्ने,खोल्ने, गृह निर्माण, गृह प्रवेश जस्ता शुभ मुहुर्तदेखि लिएर सम्पूर्ण तिथिमिति सर्वसाधारणले समेत सजिलै छुट्ट्याउन सक्ने गरी तयार गरिएको बताउनुभयो । उक्त भित्तेपात्रो कुन दिन, कुन तिथि कति घडी र कति पलासम्म कायम छ भन्ने कुरा पनि सजिलै छुट्टयाउन सकिने गरी तयार गरिएको छ । पवित्र तीर्थस्थल गलेश्वर आश्रमको महिमा झल्काउने खालका तस्बिरहरु भित्तेपात्रोमा समावेश गरिएको छ ।

गलेश्वर आश्रमको स्थापना अष्टाङ्ग योगसिद्धगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले करीब ६ दशकअघि गर्नुभएको हो । गलेश्वर बाबाले आफ्नो धर्म, संस्कृति र संस्कारलाई चीरकालपर्यन्त कायम राख्न २०२३ सालमा स्थापना गर्नुभएको वेद–वेदाङ्ग विद्यालय आश्रमअन्तर्गत नै सञ्चालन गरिरहेको छ । आश्रमले धाममा बसोबास गर्ने साधक सन्त तथा तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र पनि नियमित रुपमा सञ्चालन गरिरहेको छ । आश्रमले घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज र सुन्दर कल्पवास निर्माण गरेको छ । आश्रमले पवित्र देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई सजिलै बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबास गर्न पाइन्छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठानहरु पनि नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *