सञ्चारमन्त्री गुरुङसँग जापानी राजदूत मायदाको शिष्टाचार भेट
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा नवनियुक्त राजदूत मायदालाई स्वागत गर्दै नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न अनुरोध गरे । जापानको ओसाकामा नेपाल-२०२५ वल्र्ड एक्सपो हुन लागेकामा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले यसले नेपाली उत्पादन प्रदर्शन गर्ने पर्याप्त अवसर सिर्जना गर्नुका साथै द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान पुर्याउने आधार सिर्जना हुने बताए ।
आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव रहेको र त्यही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुँदैछ भन्ने उनले राजदूत मायदालाई जानकारी दिए । यस सन्दर्भमा, नेपालले जापानबाट थप विकास सहायता प्राप्त गर्ने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।
जापानका तत्कालीन विदेशमन्त्री कामी कावा योकोले गत वर्ष मे महिनामा गरेको नेपाल भ्रमण, सन् २०२२ नोभेम्बरमा भएको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न जापानका विदेश राज्यमन्त्री ताकेइ शुनसुकेसहितको टोलीले गरेको नेपाल भ्रमणको स्मरण गराउँदै मन्त्री गुरुङले यस प्रकारको अवलोकन तथा भ्रमणबाट नेपालको लोकतन्त्र मजबुत बनाउन र निर्वाचन निष्पक्ष बनाउन सहयोग पुगेको उनले उल्लेख गरे ।
नेपालमा जापानले गरेको आर्थिक, सामाजिक, विकासका सहयोगको चर्चा गर्दै मन्त्री गुरुङले भविष्यमा थप एक अर्काको सहकार्य प्रगाढ बनाउने धारणा राखे । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ ।
सो अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव कोषहरि निरौला, सूचना प्रविधि विज्ञ डा शालिग्राम पराजुली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।