नेपालले दिल्लीलाई १०२ रनले हराउँदै एक खेल अगावै जित्यो सिरिज
काठमाडौँ । दिल्ली यू-१९ विरुद्धको एक दिवसीय अभ्यास सिरिज नेपाल यू–१९ ले एक खेल अगावै जितेको छ ।
बिहीबार भएको दोस्रो खेलमा दिल्लीलाई १०२ रनले हराउँदै नेपालले एक खेल अगावै सिरिज जितेको हो । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । पाहुना टिम दिल्लीले भने दोस्रो खेलमा पनि खराब ब्याटिङ गर्यो । नेपालले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्ली यू–१९ टिम ३०.४ ओभरमा ९० रनमै अलआउट भयो ।
उसका लागि शान्तनु यादवले ३०, साथक पालले १६ तथा मोहक कुमारले १५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
दिल्लीलाई सस्तैमा समेट्नेक्रममा नेपाल यू-१९ का लागि अपराजित पौडेलले घातक बलिङ गरे । उनले ७ ओभरमा ४ मेडनसहित ९ रन दिएर ५ विकेट लिए । यस्तै, नितेश पटेलले दुई तथा अशोक धामी, नरेन भट्ट, विपिनप्रसाद शर्माले एक/एक विकेट लिए ।
नेपाल र दिल्ली यू-१९ टिमबीचको तेस्रो खेल शनिबार हुनेछ । नेपाली टिम आउँदो अप्रिलमा हुने आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारी स्वरूप दिल्लीसँग सिरिज खेलिरहेको हो ।