पूर्वराजालाई सभापति देउवाको चुनौती: लोकतन्त्र स्थायी हुन्छ, राजतन्त्र फर्किने सपना नदेख्नुहोस्
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाली कांग्रेसको अटुट प्रतिबद्धता रहेको बताएका छन् ।
नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा आयोजित ‘मानव अधिकार प्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता’ विषयक कार्यक्रमको उद्घाटन गर्दै उनले मानव अधिकारको सम्मान र रक्षा लोकतन्त्रको अपरिहार्य आधारस्तम्भ भएको बताए । सभापति देउवाले नेपाली कांग्रेसले ऐतिहासिक कालखण्डदेखि नै मानव अधिकारको रक्षाका लागि संघर्ष गर्दै आएको र भविष्यमा पनि यसको संरक्षणमा निरन्तर लागिरहने बताए । उनले भने, “मानव अधिकारको रक्षा हाम्रो नैतिक र राजनीतिक दायित्व हो, यसमा कुनै सम्झौता हुन सक्दैन।”
सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीहरुले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे ।
उनले सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गरे । सभापति देउवाले गणतन्त्र नेपाली जनताले मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न पनि आग्रह गरे ।