काठमाडौँमा सुरक्षा व्यवस्था कडा, ड्रोनबाट पनि निगरानी
काठमाडौं । काठमाडौंमा आज हुने गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
गणतन्त्रवादीले प्रदर्शनीमार्ग (भृकुटीमण्डप) र राजावादीले कोटेश्वरको तीनकुनेमा सभा आयोजवना गरेका छन् । प्रदर्शन शान्तिपूर्ण रूपमा गराउन काठमाडौंमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ । नेपाली सेनाको ‘इन्टेलिजेन्स’ टोली समेत खटाइएको छ । उपत्यका प्रहरी कार्यालयअन्तर्गत नियमित खटिने टोलीभन्दा करिब चार हजार प्रहरी थप गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए ।
उनका अनुसाार सादा पोसाकका प्रहरीले दुवै पक्षका प्रदर्र्शनकारीको गतिविधि नियाल्न ड्रोन क्यामेरा समेत प्रयोग गरिने छ । गर्ने यस्तै, प्रहरीले भीड नियन्त्रणका निम्ति ‘वाटर क्यानन’ तयारी अवस्थामा राखेको छ । प्रदर्शनकारीले ‘अनावश्यक’ फोन नगरून् भनेर कल सम्पर्क टावरमा अवरोध गर्ने उद्देश्यले जामरको प्रयोग गरिने तयारी छ । राजावादी र गणतन्त्रवादी प्रदर्शनकारीबीच एकापसमा मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूका रुट फरक–फरक तय गरिएको छ ।
गणतन्त्रवादीभन्दा राजावादीको प्रदर्शन अराजक हुन सक्ने आँकलन गरिएको छ । उनीहरूलाई तीनकुनेबाट बानेश्वरतर्फ अघि बढ्न नदिने योजनासहित सुरक्षा टोली खटाइएको छ ।