राजावादीको प्रदर्शन मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतिर धकेल्ने आपराधिक क्रियाकलाप : एमाले
काठमाडौं । नेकपा एमालेले राजावादीको प्रदर्शनलाई अराजकताको संज्ञा दिएको छ । एमालेले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा पूर्वराजावादीहरूको अराजक समूहले देखाएको उदण्डता, अराजकता र हिंसाको भर्त्सना समेत गरेको छ । शान्तिपूर्ण प्रदर्शनका नाममा राजावादी समूहले सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, हिंसा र आतंक फैलाउने काम गरेको एमालेको भनाइ छ ।
राजावादीको प्रदर्शन मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतिर धकेल्ने आपराधिक क्रियाकलाप भएको भन्दै एमालेले सो कार्यको निन्दा समेत गरेको छ । ‘एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ । सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ । आजका आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा छ ।