राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी तीव्र
काठमाडौं । प्रहरीले राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी तीव्र पारेको छ । प्रहरीको विशेष व्युरो पनि उनको खोजीमा खटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली उनलाई पक्राउ गर्न परिचालन भएकोमा सरकारले प्रहरीको विशेष व्युरो पनि खटाएको हो । प्रहरी उच्च स्रोतका अनुसार प्रसाईं ललितपुरको कुनै ठाउँमा लुकेर बसेको आशंका छ । उनीसँगै हिँड्ने युट्युबरलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।
प्रसाईंलाई मानव हत्यामा मुद्दा चलाउने तयारी गरिएको स्रोतले बताएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले बोलाउँछ त्यहीँ आउँछु भनेका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन् । राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।