लुटपाट भएको कोटेश्वर भाटभटेनी सञ्चालनमा
काठमाडौं । शुक्रबार राजवादीद्वारा लुटपाट भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको सीओओ पानु पौडेलले जानकारी गराए । उनका अनुसार क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिनेछ । तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित भाटभटेनीमा प्रवेश गरेर सामग्री लुटपाट गरेको थियो ।

सो समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको थियो । साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुगेको छ । भाटभटेनीले एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेछ भन्ने विश्वास राखेको विज्ञप्तिमा उल्लेख छ ।