नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छ- मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आइटी हबका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज यहाँ आयोजित ३४औँ मिटिङ अफ द एपिटी वायरलेस ग्रुपको कार्यक्रममा उनले यसका लागि मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । आइटी हबको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्ने योजना रहेको उल्लेख गरे ।
“आगामी आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार र मुलुकका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्छौ”, उनले भने । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले प्रभावकारी सञ्चार आर्थिक वृद्धि, अन्तरआबद्धता र नवीनताका लागि जरुरी भएको बताए ।