राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्यो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले गृहमन्त्री लेखकको राजीनामा मागेको हो । तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको राजीनामा, त्यसदिनको प्रदर्शनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गरिनुपर्ने राप्रपाको माग छ ।
राप्रपाले मृतकहरू सविन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ। यसैगरी राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलशमशेर राणालगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइको माग राप्रपाले गरेको छ।