लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टल अस्पतालबीच साझेदारी
काठमाडौं । लोमस फर्मास्युटिकल्स र डेन्टल सेवा क्षेत्रको संस्था हिमाल डेन्टल अस्पतालबीच रणनीतिक सहकार्यको औपचारिक समझदारी भएको छ । समझदारीअनुसार हिमाल डेन्टल अस्पतालले अब आफ्ना अस्पताल र सेवा केन्द्रहरूमा लोमस फर्मास्युटिकल्सका सम्पूर्ण डेन्टल उत्पादनहरू प्रयोग गर्नेछ । यसका साथै, लोमस फर्मास्युटिकल्सले हिमाल डेन्टलले आयोजना गर्ने शैक्षिक कार्यक्रम, गोष्ठी, सेमिनार र जनचेतनामूलक अभियानहरूमा सक्रिय सहयोग पुर्याउनेछ । दुवै संस्थाले यो सहकार्यलाई दीर्घकालीन र आपसी लाभदायक साझेदारीको रूपमा व्याख्या गरेका छन्। सहकार्यले नेपाली डेन्टल सेवा तथा शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
समझदारीपत्रमा हस्ताक्षर हिमाल डेन्टल अस्पतालका प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्ट र लोमस फर्मास्युटिकल्सका निर्देशक तथा युवा उद्यमी प्रणवजंग पाण्डेले गरेका थिए । डा. भट्टले भने, हामी सधैं गुणस्तरीय सेवा र नवीनतम प्रविधिमा विश्वास गर्छौं । यो सहकार्यले हाम्रो सेवामा थप विश्वास र प्रभावकारिता ल्याउनेछ । त्यस्तै, निर्देशक पाण्डेले भने,स्वास्थ्य सेवामा गुणस्तरीय सामग्रीको पहुँच अत्यावश्यक हुन्छ । हिमाल डेन्टलजस्तो संस्थासँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं । यसलाई दीर्घकालीन साझेदारीको रूपमा अगाडि बढाउँछौं । दुवै संस्थाले भविष्यमा संयुक्त रूपमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् । यो सहकार्य स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रबीचको समन्वयको उदाहरणीय मोडेल बन्ने अपेक्षा गरिएको छ ।