‘सहकारी ऐन र राष्ट्र बैंकको निर्देशन बाझिँदा अन्यौल
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको साझेदारी अन्तर्गत जोखिममा आधारित साकोस सुपरिवेक्षण सम्बन्धी अभिमुखीकरण कर्ब्स– कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले सहकारी संस्था स्तरीकरण कार्यक्रममा आवद्ध हुँदा संस्थालाई नीति, नियम विपरीत जान दिदैन र संस्थाको वित्तीय पाटोको बारेमा सुक्ष्म विश्लेषण हुने उल्लेख गरे । संस्थाको संचालक समितिको नियमित बैठकमा मासिक रुपमा पर्ल्ससहित वित्तीय विवरण पेश गरी सोको बारेमा गहन छलफल गर्नुपर्ने उल्लेख गरे । नेपाल सरकारले जारी गरेको सहकारी ऐन र नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्डमा फरक फरक व्यवस्थाले सहकारी संस्था अन्यौल रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले संघले कर्ब्स सम्बन्धी अभिमुखीकरण कार्यक्रम दोस्रो पटक आयोजना गरिएको र कर्ब्स, प्रोबेसन, एक्सेस जस्ता स्तरीकरण कार्यक्रमले संस्थाको स्तरोन्नति हुनुको साथै सदस्य, कर्मचारी, संचालकको समेत सुरक्षण हुने विचार व्यक्त गरे । हालै नेपाल राष्ट्र बैंकले जारी गरेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१ मा भएका बचतको सिमा, जोखिम कोषको व्यवस्था लगायतका विषयमा समेत उनले जानकारी गराएका थिए । नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले साकोसमा हुने सम्भावित जोखिमको बारेमा प्रशिक्षण गर्दै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमको बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा संघमा आवद्ध २२ वटा संस्थाका पदाधिकारी, व्यवस्थापक तथा उच्च तहका कर्मचारीहरु र संघका पदाधिकारी, कर्मचारी समेत गरी ३८ जनाको सहभागिता रहेको थियो ।