प्रचण्डको परिवारलाई पदमा पुर्याउन देशमा १५ खर्बको क्षति भयो- नेता शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिबाट असुल्नुपर्ने माग राखेका छन् ।
प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको उनको दाबी छ । आमसभामा बोल्दै शाहीले भने, ‘१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब, जुन आजको मूल्य ५ खर्ब हुन्छ, को भौतिक सम्पत्ति ध्वस्त पारेका छन् । त्यसको ब्याजसहित ‘प्रचण्ड’को सम्पत्तिबाट असुल्नुपर्छ । के परिवर्तन भयो ? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा पुर्याउन यो देशले ३०५ खर्ब, आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति भोग्यो । त्यसको एक-एक हिसाब माओवादीले तिर्नुपर्छ ।’
शाहीले देशका ११ सय ठूला साना उद्योग माओवादीले बन्द गराएको तथा एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारेको आरोप लगाए । ६ लाखभन्दा बढीलाई बेरोजगार बनाएर बेल्चा हाल्न विदेश पठाइएको उनले बताए । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा राजतन्त्र र गणतन्त्रको गलत डाटा प्रस्तुत गरेको आरोप पनि शाहीले लगाए ।