नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित
काठमाण्डौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। बिहीबार आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्। नेपाल बार एशोसिएसनमा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायी संगठन तथा नेकपा (माओवादी केन्द्र) र रास्वपानिकट कानुन व्यवसायी संगठनबीच गठबन्धन थियो। कांग्रेस एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो।
अध्यक्षमा माओवादी रास्वपा गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले दुई हजार छ सय २१ मत ल्याएका छन्। कांग्रेसनिकट कानुन व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमालेनिकट कानुन व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए। महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्। उनले ४८७४ मत ल्याए। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले २३६७ र हरिशरण कार्कीले २४० मत ल्याएका छन्।