दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सर्ने
काठमाण्डौं । आगामी जेठमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सर्ने भएको छ। शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिता जेठमा हुन नसक्ने बताएका हुन्। मन्त्री चौधरी परिषदका अध्यक्ष हुन्। मन्त्रीले दशौं नहुने विषयमा बैठकमा धारणा राखेको एक बोर्ड सदस्यको भनाइ छ। यसअघि एमाले निकट परिषदका उपाध्यक्ष ध्रुव आर्चायसहित बोर्ड सदस्यले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। त्यसपछि दशौं सार्ने विषयले प्राथमिकता पाएको एक बोर्ड सदस्यले जानकारी थिए।
दशौं राष्ट्रिय खेलकुद समयमै गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ जोडबल गर्दै आएका थिए। दशौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म निर्णय गरिएको थियो। यो मिति बोर्डले निर्धारण गरेको तेस्रो मिति हो। यसअघि पहिलो पटक मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गरिने घोषणा गरिएको थियो। तर तोकिएको मितिमा खेलकुद हुन नसकेपछि चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी मिति सारिएको थियो। चैतमा पनि खेलकुद आयोजना नभएपछि फेरि जेठमा मिति सारिएको थियो। दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने निर्णय गरिएको थियो। दशौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धामा प्रतिस्पर्धा हुने प्रस्ताव छ।