यो सरकार ढल्ने ? हल्लिँदा पनि हल्लिँदैन : प्रधानमन्त्री ओली
काठमाण्डौं । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशको परिवर्तनका लागि बनेको बताएका छन् । उनले यो सरकारलाई कुनै शक्तिले पनि ढाल्न त के हल्लाउन पनि नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार कुनै पनि अवस्थामा नढल्ने बताएका हुन् ।
‘यो सरकार ढल्छ भन्ने कुरै छोडिदिनुस । हल्लिँदा पनि हल्लिँदैन,’ उनले भने, ‘मुलुकमा धेरै खाले समस्या छन्, अप्ठ्यारा छन्, तिनको समाधानका लागि यो सरकार बनेको हो । पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताउँदै आएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन् ।