नगरकोट भ्रमण वर्षको तयारी पुरा, राष्ट्रपति पौडेलद्धारा बैशाख १ गते उद्घाटन
भक्तपुर । प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रबिन्दूमा राखेर भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा बैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पुरा भएको छ । नगरकोटमा एक लाख विदेशी र १० लाख स्वदेशी गरि ११ लाख पर्यटक भित्रयाउने गरि नगरकोटसंग सिमाना जोडिएका चाँगुनारायण, मण्डनदेउपुर, वनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को चारवटै पालिकाले प्रचारप्रसार तिब्र पारेका छन् ।नगरकोट भ्रमण वर्ष–२०८२ संयुक्त सचिवालयको आयोजना तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा आज नगरकोटमा भएको पत्रकार सम्मेलनमो नगरकोट भ्रमण वर्ष–२०८२ मूल आयोजक समितिका संयोजक एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले तयारी पुरा भएको जानकारी दिनुभयो । ‘बैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नगरकोट भ्रमण वर्षको उद्घाटन बतासेडाँडा हुनेछ । नगरकोट केन्द्रीत गरेर बैशाख २ र ३ गतेसम्म भव्य रुपमा मनाउने छौँ । त्यसका लागि प्रचारप्रसार तिब्र पारेका छौँ । भ्रमण वर्षको उद्घाटन लगायतका कार्यक्रमहरुको तयारी चारवटै नगरपालिकाले संयुक्त रुपमा पुरा गरेका छौँ ।’ नगरकोट आउने पर्यटकहरूको बसाई लम्ब्याउदै स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्य सहित रैथाने बालीका परिकारहरु, खाना, कोदो, फापरका परिकार पर्यटकलाई चखाउने योजना अनुरुप गाउँ गाउँमा नमुना होमस्टे बनाइएको बताउनुभयो । भ्रमण वर्षको एक वर्ष अवधिभर नगरकोट आउने पर्यटकलाई चार वटा नगरपालिका भित्रका विभिन्न ऐतिहासिक, पुरातात्विक मठमन्दिरलगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, क्षेत्रहरूको भ्रमण गराउने, हिमाली दृश्यहरू, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनसंगै यहाँका कृषि, पर्यावरणीय पर्यटनको मनोरम दृश्यावलोकन गरिने र मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफेनो कार्यकालको पहिलो बैठकमै भ्रमण वर्ष मनाउने घोषणा गरेकोमा अहिले चारवटै नगरपालिकाको सहकार्यसहित नगरकोटलाई पर्यटकीय केन्द्रबिन्दु बनाउन भ्रमण वर्ष मनाउन लागेको बताउनुभयो । नगरप्रमुख खत्रीले भन्नुभयो, ‘नगरकोटलाई सरकारबाट पर्यटकीय क्षेत्र घोषणा गराउन र मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो कार्यपालिकाको पहिलो बैठकको निर्णयलाई पुरा गर्न हामी तयारीमा जुट्यौ, त्यतिबेला नै नगरकोटसग सिमाना जोडिएका छिमेकी पालिकाका प्रमुखहरुसंगको छलफलबाट संयुक्त रुपमा भ्रमण वर्ष मनाउने निर्णय गर्यौ, यो एक वर्ष भरि मनाउने भ्रमण वर्षमा नगरकोटबाहेक चारवटै पालिकाले दुई दईवटा मख्य कार्यक्रम गर्ने र अरु आ–आफ्ना पालिकाको वडागत रुपमा पनि मनाउने गरि अगाडि बढ्यौ ।’पत्रकार सम्मेलनमा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकहरू बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गराउन सकिने, यहाँका जात्रा परम्परामा पर्यटकलाई जोड्ने, जलजले ताल, गुम्बालगायतमा पर्यटकलाई लैजान सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरकोटमा प्रदुषणका कारण हिमाल देख्न छोडियो, सूर्योदय र सूर्यास्त मात्रै हेर्न पर्यटक धेरै रात बस्दैनन, पर्यटकको बसाई लब्याउन नगरकोट आएका पर्यटकलाई नगरकोटबाट बनेपा घुमेर फेरी नगरकोट आएर बास बस्ने गरि बसाई लम्ब्याउन सकिन्छ ।’ चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताउदै पर्यटन, कृषि पर्यटन, विभिन्न जातजाति, भेषभूषा जात्रा, पर्व र सांस्कृतिक पहिचानलाई भ्रमण वषले उजागर गर्ने बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोटको समग्र विकासका लागि चारवटै पालिकाको साझेदारीमा नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको बताउनुभयो । उहाँले नगरकोटमा मात्र पर्यटक सीमित भइरहेको अवस्थामा चार वटै पालिकामा पर्यटक पर्याउन भ्रमण वर्ष सफल हुने बताउनुभयो । भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहनेछन् । यस्तै फुड स्टल तथा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको संग्राहलय तथा प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी भ्रमण वर्षको कार्यक्रममा प्रस्तुत गरिने छ । बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रबद्र्धन रहने भ्रमण वर्ष सफल पार्न मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइबाको संयोजकत्वमा चारवटै नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडाध्यक्ष, पूर्व तथा वर्तमान जनप्रतिनिधि, सामाजिक संस्था, पर्यटन व्यवसायी लगायत १ हजार १ सय १ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न ९ वटा उपसमिति पनि गठन गरिएको छ । होटल व्यवसायीहरूले बैशाख ३ गतेसम्म १५ प्रतिशत र भ्रमण वर्ष अवधिभर १० प्रतिशत छुट दिने घोषणा गरेका बताउदै काठमाडौं–नगरकोट सिधा बस सेवा पनि सुरु गरिएको उपप्रमुख बुढाथोकीले बताउनुभयो । चाँगुनारायण नगरपालिकाले भक्तपुर नगरकोट सडक स्तरोन्नती गर्न बोलपत्र आव्हान गरिसकेकोले आगामी जेठसम्म सडक निमाण हुने बताउदै उपप्रमुख बुढाथोकीले चारवटै नगरपालिकाबाट नगरकोट जोड्ने सडक स्तरोन्नतिको काम गरिरहेको र पदमार्गलाईसमेत चलायमान बनाइने बताउनुभयो । भ्रमण वर्ष सचिवालयका बिज्ञ डा. घनश्याम खतिवडाले चैत महिनामा राष्ट्रिय सहकारी दिवसको विशेष कार्यक्रम र नगरकोट भ्रमण वर्ष स्मारिका प्रकाशन गरिने, कार्यक्रमहरु समेत आयोजना गरिने बताउनु भयो ।