विद्यालय शिक्षा विधेयकमा परिच्छेद १४ सम्ममा सहमति
काठमाडौँ । संसद्को शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयकमा परिच्छेद १४ सम्ममा सहमति जुटेको छ। आज शनिबारको दिन समेत छलफल गरिएको हो। शिक्षकहरूले आन्दोलन चर्काइरहेका बेला शिक्षा समिति अन्तर्गत बनेको उपसमितिले परिच्छेद १४ मा भएका दफाहरूमा सहमति जुटाएको हो। उपसमिति सदस्य सरिता भुसालले विधेयकमाथिको छलफल फास्ट ट्र्याकमा भइरहेको बताइन् । उपसमितिले के के विषयमा सहमति जुट्यो भन्ने विषयमा भने उनले अहिले भन्न नमिल्ने बताइन्। परिच्छेद १४ मा कसुर र सजायको व्यवस्था गरिएको छ। दफा १४२ मा कसुर तथा सजाय, १४३ मा नेपाल सरकार वादी हुने लगायतका प्रावधान राखिएका छन्।
उपसमितिले निजी विद्यालय र शिक्षकको दफा बाहेक अन्यमा सहमति जुटाउँदै आएको हो। यी दुवै विषय जटिल भएकाले अन्तिममा छलफल गर्ने भन्दै ती दफाहरू छोडिएको भुसालको भनाइ छ। बढी विवादित तथा जटिल दफामा उपसमितिले अन्तिममा छलफल गर्ने र उच्च तहमा सहमति खोज्ने जनाएको छ। १६३ दफा रहेको विधेयकमा आजसम्म १४५ दफामा सहमति जुटाएको हो। तर, विवादित बिचका दफाहरूमा पछि छलफल गर्ने गरी छोडेको छ। उपसमितिले जति सक्दो चाँडो सक्ने गरी काम गरिरहेको उनेका भनाइ छ।