२०८१ साल कस्तो रह्यो नेपाली चलचित्र क्षेत्र ?
यी हुन् धेरै कमाउने १० नेपाली चलचित्रहरु
२०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक वर्ष साबित भएको छ । यस वर्षमा नेपाली सिनेमा उद्योगले न केवल नयाँ चलचित्रहरूको सफलता देखाएको छ, अपितु दर्शक वर्गको रुचिमा पनि विविधता र गहिराइ आएको छ । यस वर्ष नेपाली चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘छक्कापञ्जा ५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘पूजार सार्की’ र ‘१२ गाउँ’ जस्ता चलचित्रहरूले चलचित्र क्षेत्रमा ठूलो सफलता प्राप्त गरे । यस वर्षमा नेपाली सिनेमा उद्योगमा केवल व्यवसायिक तरिकामा बृद्धि नदेखिएर नेपाली चलचित्र पनि राम्रो भयो र मिहिनेत गर्यो भने चल्छ भन्ने सन्देश यस बर्षका यि चलचित्रहरुले दिएका छन् ।
- व्यवसायिक सफलता र उच्च कमाई
२०८१ सालमा नेपाली चलचित्रहरू व्यावसायिक दृष्टिले निकै सफल भएका छन् । ‘छक्कापञ्जा ५’ जस्तो हास्य फिल्मले उत्कृष्ट व्यावसायिक सफलता गर्दा सामाजिक कथा बस्तुमा आधारित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले त केवल व्यावसायिक सफलता मात्र कमाएनन् इतिहास नै रच्न सफल भयो । सरोज पौडेलद्वारा निर्देशित यस चलचित्रले बाबुछोराको भावनात्मक सम्बन्धको कथा भनेको छ, हालसम्म आइपुग्दा यस चलचित्रले ४६ करोड ८० लाख रुपैयाँ ग्रस गरिसकेको छ । उक्त कमाई गरेसँगै ‘पूर्णबहादुरको सारङ्गी’ सर्वकालिन धेरै कमाउने नेपाली चलचित्र समेत बनेको छ । त्यसैगरी यसैबर्ष आएका ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘पूजार सार्की’, ‘घरज्वाइँ’, ‘फर्की फर्की’, ‘लाज शरणम् ’ जस्ता चलचित्रले पनि यस वर्ष राम्रो कमाई गर्न साथै दर्शकको माया पाउन सफल भएका छन् । यस वर्ष धेरै कमाउने शीर्ष १० फिल्मको सूचीको पहिलो स्थानमा ‘पूर्णबहादुरको सारङ्गी’ त्यस्तै दोस्रो स्थानमा ‘१२ गाउँ’ रहेको छ । त्यसै गरी तेस्रोमा ‘छक्कापञ्जा ५’ चौथोमा ‘बोक्सीको घर’ र पाँचौँमा ‘अञ्जिला’ रहेको छ । मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बा पो सुब्बाको जीवनमा आधारित भएर निर्माण गरिएको चलचित्र हो । यस चलचित्रमा उनी स्वयंले आफ्नो भूमिकामा अभिनय गरेकी थिइन् । उनको बाल्यकालदेखि खेल जीवनसम्मको यात्रालाई फिल्ममा देखाइएको छ । यो चलचित्र छोटो समयमा चर्चामा आएसँगै यस चलचित्रलाई दर्शकहरूले निकै मन पराएका थिए ।
- यसबर्ष धेरै कमाई गरेका दश नेपाली चलचित्रहरू, कसको कमाई कति ?
- १. पूर्णबहादुरको सारङ्गी– ४६ करोड ८० लाख रुपैयाँ ग्रस
- २. १२ गाउँ– १९ करोड ९२ लाख रुपैयाँ ग्रस
- ३. छक्कापञ्जा ५– १५ करोड २० लाख ग्रस
- ४. बोक्सीको घर– १० करोड २ लाख ग्रस
- ५. अञ्जिला– ७ करोड ५० लाख रुपैयाँ ग्रस
- ६. पूजार सार्की– ७ करोड ३७ लाख रुपैयाँ ग्रस
- ७. घरज्वाइँ– ५ करोड ९ लाख रुपैयाँ ग्रस
- ८. फर्की फर्की– ४ करोड ८४ लाख रुपैयाँ ग्रस
- ९. मनसरा– ४ करोड ७८ लाख रुपैयाँ ग्रस
- १०. लाज शरणम्– ४ करोड ३४ लाख रुपैयाँ ग्रस
यस सालमा नेपाली फिल्म उद्योगमा नयाँ विचार र रचनात्मक प्रयोगको प्रभाव देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक र सांस्कृतिक धरोहर समेटिएको फिल्मले दर्शकलाई नेपाली इतिहास र परम्परामा फर्कायो त्यति मात्र होइन पछिल्लो पुस्तामाझ आफ्ना परिवार, बाबु प्रतिको माया र बाबुले आफ्ना सन्तानका लागि गर्ने संर्घष आदिलाई चलचित्रले देखिइदियो । यस्तै, ‘लाज शरणम्’ र ‘अञ्जिला’ जस्ता फिल्महरूले समाजका संवेदनशील मुद्दाहरूलाई गहिरो ढङ्गले प्रस्तुत गरे, जसले दर्शकमा गहिरो प्रभाव पा¥यो । ‘बोक्सीको घर’ जस्तो थ्रिलर फिल्मले नयाँ शैली र विचारको प्रयोग गर्दै नेपाली सिनेमा उद्योगमा नयाँ उचाइ थप्यो । त्यसैगरी ‘सोसल ड्रामा’ बाहेक अन्य जनरामा फिल्म बन्ने क्रममा गिरावट आइरहेको समयमा एक्सन जनराका फिल्म त ‘मिसिङ’ जस्तै नै भइरहेका थिए । जब चलचित्र ‘१२ गाउँ’ जस्ता एक्सन चलचित्रले बक्स अफिसमा आक्रामक कमाइ ग¥यो, यो धेरैका लागि अनपेक्षित व्यापार हो । ‘सोसल ड्रामा’ बाहेकका अन्य जनरामा गिरावट आइरहेको समयमा यी मापदण्डलाई चुनौती दिँदै ‘१२ गाउँ’को कमाइ आफैमा उत्साहजनक रह्यो ।
त्यसै गरी यस साल धेरै चलचित्रहरू निर्माण भए, पोस्टर सार्वजनिक भए, र नयाँ नयाँ तरिका अपनाई नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउने कोसिस यस वर्ष भएको पाइन्छ । यसरी समंग्रमा हेर्दा २०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि एक सकारात्मक र उन्नत वर्ष बन्यो । नयाँ विचार, रचनात्मकता र सामाजिक, सांस्कृतिक मुद्दाहरूको समावेशले नेपाली सिनेमा क्षेत्रलाई थप बलियो बनाएको छ । ‘पूर्णबहादुरको सारङ्गी’, ‘छक्कापञ्जा ५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘लाज शरणम्’, र ‘पूजार सार्की’ जस्ता चलचित्रहरूले नेपाली सिनेमा उद्योगको क्षितिजलाई नयाँ उचाइमा पुर्याएको छ र भविष्यमा पनि यस्ता सफल र सन्देशमूलक फिल्महरूको निर्माणलाई प्रोत्साहित गरेको छ । २०८१ सालको नेपाली सिनेमा उद्योगको विकास र भविष्यका अवसरहरूको दृष्टिले एक ऐतिहासिक वर्ष साबित भएको छ ।