कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने
काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफलले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने निर्णय गरेको हो । देउवानिवास बुढानीलकण्ठमा भएको छलफलले महाधिवेशन गर्न नसक्नुको कारण र हालसम्म गरेका कार्यको विवरण माग्ने निर्णय पनि गरेको छ । हालसम्मको कार्य प्रगतिबारे भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट गठन भएको निर्देशक समिति र सम्बन्धित संस्थाको अध्यक्षले लिखित जवाफ पठाउनुपर्ने छ । बैठकमा मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि सहभागी थिए । लामो समयदेखि महाधिवेशन गर्न नसकेका भ्रतृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने तयारीमा कांग्रेस छ ।
त्यसअघि सात दिनभित्र लिखित जवाफ मागिएको एक नेताले जानकारी दिए । कांग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । पार्टीले उपलब्ध गराएको समयसीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत छैन । प्रमुख भ्रातृ संस्थाका रुपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् । कांग्रेसका एक पदाधिकारी अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थाहरू भंग हुनेछन् ।
‘अधिवेशन गराउने छाँटकाँट नै देखिएन । १,२ महिना थपौं भनेपनि प्रक्रिया नै सुरु गरेका छैनन् । ‘अहिले नेतृत्व गरिरहेकाहरूको कार्यसमिति भंग नगरी पार्टीसँग अर्को विकल्प नै छैन । भ्रातृ संस्थाहरूमा नयाँ समिति कुन विधिबाट ल्याउने बारे पार्टी बैठक बसेर मात्रै निर्णयमा पुगिने उनले बताए । यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपाङमा संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपाङ संघले पहिलोपटक महाधिवेशन गरेका हुन् । नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।